प्रदेशमा चाँडै लगानी सम्मेलन गर्छौं-मुख्यमन्त्री राई

विराटनगर-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले लगानी र समिटर्स (हिमाल आरोही) सम्मेलनको आयोजना आगामी केही समयभित्र गरिने वताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ को दोश्रो साधारण सभाको शुक्रवार यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश भित्रको हिमाल आरोही गरिसकेका र गर्नका लागि स्वदेशी र विदेशीलाई आकर्षित र कृषि, जलश्रोत र पर्यटन क्षेत्रको समुचित विकासका लगानीका लागि यस्ता दुई सम्मेलनको आयोजना गर्न प्रदेश सरकारले आन्तरिक गृहकार्य शुरु गरिसकेको जानकारी दिनुभयो । मुख्यमन्त्री राईले स्विस सरकारको सहयोगमा प्रदेश भित्रका २५ वटा परियोजनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी लगानी सम्मेलन पूँजी भित्र्याई यस क्षेत्रका जनताको समृद्धको चाहना पूरा गरी रोजगारी क्षेत्रमा क्रान्ति ल्याउने दावी समेत गर्नुभयो ।
उहाँले आगामी वैशाख १५ गतेसम्म प्रदेशको आवधिक योजना तयार गरी त्यसका आधारमा निति तथा कार्यक्रम र वजेट तयार गर्ने जानकारी दिदै आगामी पाँच वर्ष आवधिक योजना र त्यसको ५ वर्षमा विकासको गति तिव्र गतिमा दौडने वताउनुभयो । मुख्यमन्त्री राईले निजी क्षेत्रको साझेदारी वढाउने विधेयक प्रदेश सभामा चाँडै पेश गर्ने वताउदै जलश्रोत, उर्जा लगानी वढाउन छुट्टै कोष निर्माणका निम्ती प्रदेश सरकार आन्तरिक तयारीमा जुटेको जानकारी दिनुभयो ।
उहाँले यस क्षेत्रको छिमेकी राष्ट्रको पर्यटक वृद्धिका लागि विराटनगरको विमानस्थलको धावन मार्ग ३ हजार मिटर वनाउन जग्गा अधिग्रहणको कार्य अगाडी वढाउने वताउदै यसलाई भविष्यमा क्षेत्रीय अन्तराष्टीयस्तरको विमानस्थलको विस्तार गरिनेछ भन्नुभयो । मुख्यमन्त्री राईले जोगवनी किमाथान्का राजमार्गको चीनतर्फ जोडिने अव १८ किमिमात्र ट्रयाक खोल्न वाँकी रहेको वताउर्दै त्रीदेशीय यस सम्पर्क राजमार्गमा उद्योग व्यापारमा ठूलो फड्को मार्नुका साथै जनतामा रोजगारीको धेरै अवसर सिर्जना भई जीवनस्तर उकास्ने वताउनुभयो ।