शान्त राईको लेखन र अभिनय रहेको ‘बेरङ्गी’ सार्वजनिक
सुमन बङ्देल
काठमाडौँ — नेपाली सांगीतिक बजारमा गुणस्तरीय सिर्जनाको पर्याय बन्दै गएको एसकेआर पिक्चर्सले आफ्नो नयाँ सांगीतिक प्रस्तुति ‘बेरङ्गी’ सार्वजनिक गरेको छ। गीत सार्वजनिक भएको छोटो समयमै यसले दर्शक र श्रोताको मन जित्दै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।
भावनाको तार छुने शब्द र संगीत, शान्त राईको शब्द रचना रहेको यस गीतमा उनले प्रेमको ‘रङ्गहीनता’ र मानवीय संवेदनालाई मार्मिक ढंगले उतारेका छन्। पछिल्लो समय संगीत प्रेमीका बीच राम्रो छाप छोड्न सफल देवेश राईले यस गीतमा संगीत, एरेन्ज र रेकर्डिङको जिम्मेवारी सम्हालेका छन्। उनको साउन्ड डिजाइन र मिक्सिङले गीतको अडियो पक्षलाई निकै निखारिएको र मजबुत बनाएको छ।
यस गीतमा सुमधुर स्वरका धनी प्रशान्त सिवाकोटी र ससिका राईको भोकल सुन्न सकिन्छ। उनीहरूको गायकीले शान्त राईका शब्द र देवेश राईको संगीतलाई पूर्ण न्याय दिँदै गीतको मर्मलाई सजीव बनाएको छ।लेखनमा सक्रिय रहे पनि शान्त राईको शब्द सिर्जना रेकर्ड भएर बजारमा आएको यो नै पहिलो पटक हो। वर्षौँदेखिको उहाँको साधनाले अहिले ‘बेरङ्गी’ मार्फत मूर्त रूप पाएको छ।
भिडियोमा जीवन्त अभिनय र कलात्मकता, निर्देशक किरण राईले भिडियोलाई निकै कलात्मक शैलीमा निर्देशन गरेका छन्। भिडियोमा स्वयं गीतकार शान्त राई र अञ्जना थुलुङको मुख्य अभिनय देख्न सकिन्छ। साथै, राजन कुमार राई र विश्व राईको जीवन्त अभिनयले भिडियोको कथालाई थप सशक्त बनाएको छ।
इसक जबेगुको सिनेमाटोग्राफी र सम्पादनले प्रत्येक दृश्यलाई स्तरीय बनाएको छ। सरोज खालिङको व्यवस्थापन, रबिना लिम्बुको मेकअप र सञ्जोक एण्ड टिमको लाइटिङले प्राविधिक पक्षलाई उत्कृष्ट तुल्याएको छ।
वर्षकै महत्त्वपूर्ण प्रस्तुति हुने अपेक्षा, एसकेआर पिक्चर्सको आधिकारिक च्यानलमार्फत सार्वजनिक यो गीत लामो समयदेखि नयाँ स्वादको पर्खाइमा रहेका संगीत प्रेमीका लागि एउटा विशेष उपहार साबित भएको छ। व्यावसायिक भिडभन्दा फरक र मौलिक सौन्दर्य बोकेको यो सिर्जनाले नेपाली सुगम संगीतको भण्डारमा एउटा इँटा थप्ने विश्वास गरिएको छ। निर्माण पक्षले यस प्रोजेक्टलाई सफल बनाउन विशेष सहयोग पुर्याउने बाबिन राई ( (गल्फने) प्रति आभार व्यक्त गरेको छ।



