कल्पना राई कुन्जुको नयाँ गीत ‘हुलैमा मिल्दै’ सार्वजनिक
-सुमन बाङ्देल
लण्डन/काठमाडौँ – लामो समयदेखि बेलायत (UK) लाई आफ्नो कर्मथलो बनाउँदै आए पनि नेपाली र किराँती संगीतलाई मुटुमै बोकेर हिँड्ने गायिका कल्पना राई कुन्जुले फेरि एकपटक आफ्नो माटोप्रतिको प्रेम दर्शाएकी छिन्। साकेला पर्वको पावन अवसर पारेर उनले आफ्नो नयाँ सांगीतिक कोसेली “हुलैमा मिल्दै” बजारमा ल्याएकी छिन्।
यो केवल एउटा गीत मात्र नभएर हाम्रो मौलिक संस्कृति र पहिचानलाई नयाँ पुस्तासम्म पुर्याउने एउटा सुन्दर प्रयास पनि हो।
यस गीतमा शब्द, संगीत र स्वरको त्रिवेणी निकै लोभलाग्दो छ। टीका चाम्लिङका शब्दहरूले हाम्रो माटोको कथा भन्छन् भने अनिल कोयी राईको संगीतले श्रोतालाई साकेला थलोमै पुगेको आभास गराउँछ। राजु कार्कीको उत्कृष्ट एरेन्जमेन्ट र सुरेश राईको रेकर्डिङले गीतलाई अझ स्तरीय बनाएको छ।
गीतको म्युजिक भिडियो झनै विशेष बनेको छ। अनिल कोयी राईको निर्देशनमा तयार भएको यस भिडियोमा चर्चित कलाकार उमेश राई (फुलन्देकी आमा) को ऊर्जावान अभिनय देख्न सकिन्छ। उनीसँगै अञ्जना राई, सुस्मिता राई र राईछाकुलेको कलात्मक प्रस्तुतिले भिडियोलाई जीवन्त तुल्याएको छ।
अनिल थुलुङको नृत्य निर्देशन, गङ्गाराम राईको छायांकन र अमृत चापागाईंको सम्पादन र नाक्छुङ पारुहाङ चाम्लिङको मौलिक सहभागिताले यस भिडियोलाई सांस्कृतिक रूपमा निकै भव्य र आकर्षक बनाएको छ।
प्रवासको व्यस्त दैनिकीका बीच पनि संगीतका लागि समय निकाल्नु आफैँमा चुनौतीपूर्ण छ। यस कार्यमा कल्पनालाई परिवारको ठूलो साथ मिलेको छ। निर्माता कोपिला राई (ममी) र प्रकाश राई (श्रीमान) को लगानी तथा हङकङबाट कृति राई लगायतको सहयोगले यो प्रोजेक्ट सफल भएको हो।
‘म जहाँ भए पनि मेरो मुटु नेपालमै छ। हाम्रो संस्कृति र साकेलाको यो उर्जालाई संसारभर रहेका नेपालीमाझ पुर्याउनु नै मेरो मुख्य उद्देश्य हो,’ गायिका कुन्जुले बताइन्।
साकेलाको रौनकमा रमाउन चाहने र मौलिक संगीत प्रेमीहरूका लागि “हुलैमा मिल्दै” एउटा उत्कृष्ट उपहार सावित भएको छ। यो गीत अहिले युट्युबमा उपलब्ध छ, जसले जोकोहीलाई पनि आफ्नो गाउँघर र संस्कृतिको न्यास्रो मेटाउन मद्दत गर्नेछ।



