Logo

सविता भुजेलका उत्कृष्ट पाँच गजल


खाेटाङ जिल्लास्थित साकेला गाउँपालिकाकी सविता भुजेल गजलकाे अलवा गीत पनि लेख्छिन् । टेम्के तुवाचुङ प्रतिष्ठानका सहसचिव उनी ‘टेम्के तुवाचुङ’ त्रैमासिककाे सम्पादनमा पनि संलग्न छिन् ।


के मात्र चढाएन उसले

के मात्र चढाएन उसले भगवानको लागि
यो सब गरेको हो तिम्रो मुस्कानको लागि

तिमी मनमा बसीबसी मसङ कुरा गर्छौ
कहिले आउँछौ नजिकै चिनजानका लागि

समय पर्खाल बनेर उभिरहन्छ ढोकामा
तर मन हरदम तयार छ उडानका लागि

जहाँ हरेक साँझ र बिहान चिसोमा बित्छ
कति पीडा हुन्छ होला है ओदानका लागि

पटुकी कसेर निदाउँछन् मेलोबाट फर्केका बा
खाजा साची ल्याइदिएछन् सन्तानका लागि‍


अक्कर भन्दा नि अप्ठ्यारो

अक्कर भन्दा नि अप्ठ्यारो उकालो बोकेर
बा’को जीवन बित्यो साहुको कोदालो बोकेर

अन्तमा तिम्रो समिप यसरी पुग्ने रहर छ
जसरी नदी पुग्छ थोपा चोटको भङ्गालो बोकर

बच्चाले आमाको पटुकाीमा सामल मात्रै देख्यो
ल्याएछिन् दिलमा अपमानको भुइँचालो बोकेर

तिम्रो महललाई तिम्रै चमकले अँध्यारो बनायो
ओ शहर म आउँदैछु गाउँबाट उज्यालो बोकेर


बाटो मोड्छु भन्दै

बाटो मोड्छु भन्दै पानी बगर सम्म आइपुग्छ
ठोकिन्छ चट्टानमा, फर्कने ठहरसम्म आइपुग्छ

आएनौ बिपनामा तिमी, कुनै दिन आएनौ
आइदिए हुन्थ्यो भन्ने रहरसम्म आइपुग्छ

मेरो नजर मात्रै हो,  भिडहरुले छेक्न सक्ने
यो मन त मान्दैन, तिम्रै शहरसम्म आइपुग्छ

परदेशीका सुस्केराहरु रातभर कोल्टे फेर्छन्
जब आँखामा पहाड , मन घरसम्म आइपुग्छ


कोही किन यति धेरै

कोही किन यति धेरै प्यारा हुन्छ
उनकै यादमात्र पनि साहारा हुन्छ

सायद सोचेकै थिएनन् फूलहरुले
आफ्नै माली नै उनको हत्यारा हुन्छ

चामल कुवाउँदै पुर्दै गर्छ राजधानी
भोकमरीमा रोल्पा रुकुम बारा हुन्छ

ऊ आज पनि मसङ्ग खुबै रिसाएर गयो
माया देखाउने आ-आफ्नै पारा हुन्छ


आँसु पखालेर

आँसु पखालेर आँसुकै अञ्जुलीहरुले
यसरी पनि उत्सव मनाउँछन् खुसीहरुले

हजुर अहममा बाँच्नुभयो, भ्रममा बाँच्नुभयो
घरलाई घर जस्तै बनाएको हुन् नानीहरूले

ऋणले, अभावले र यादहरुले खुब सतायो
तर सताउँदै सताएन परदेशीलाई बाडुलीहरुले

कहिल्यै बधाई भनेनन्, शुभकामना दिएनन्
चुपचाप यहाँसम्म ल्याए तिनै सहयोगीहरुले

 

info.alagarc.com बाट लिएको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्