काठमाडौँ:  मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका तीन जनालाई बर्खास्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका मन्त्रीलाई बर्खास्त गरेको भोलि पल्टै राउतले पनि मधेश सरकारको मन्त्रिपरिषदबाट नेपाली कांग्रेसका तीन जना मन्त्रीहरुलाई बर्खास्त गरेका हुन् ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंह छन् । उनीहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन भनेका थिए । तर राजीनामा नदिएपछि बर्खास्त गरेका हुन् ।

सत्ता गठबन्धनकै अरू दुई घटक नेकपा (एकीकृत समाजवादी) र माओवादीका मन्त्रीलाई भने मुख्यमन्त्री राउतले निरन्तरता दिएका छन्।

मधेस प्रदेशमा जसपा‚ नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को संयुक्त सरकार थियो। जसपा विभाजित भएपछि लोकतान्त्रिक समाजवादी पार्टी रोजेका मन्त्रीहरूलाई हटाएर यी दलहरूलाई पालैपालो मुख्यमन्त्री राउतले प्रदेश सरकारमा सामेल गराएका थिए ।

मधेश सरकारमा एकीकृत समाजवादीबाट शत्रुधन महतो वन तथा पर्यटन मन्त्री, प्रमोद यादव कानून, न्याय तथा प्रदेश सभा मामिलामन्त्री र नागेन्द्र राय यादव राज्य मन्त्री छन् । यसैगरी नेकपा माओवादी केन्द्रबाट गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र राज्यमन्त्री रुवीकुमारी कर्ण छन् ।