नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलबीच चुनावमा जाने सबै विषयको टुंगो भदौ १५ गतेसम्म लागिसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज पत्रकाहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले आज साँझसम्मका गठबन्धनले एउटा खाका तयार गरिसक्ने बताए । गठबन्धनमा कसैले पनि बाह्रै टक्का भन्न नहुने उनको भनाइ छ ।

“बाहिर आएका दाबीहरु अनुमान मात्र हुन्, सबै कुरा मिल्छ,” प्रचण्डले भने, “सिट बाँडफाँट पनि मिल्छ ।”

प्रचण्डले राष्ट्रपतिले फिर्ता पठाएपछि संघीय संसद्ले पुनः पारित गरेको नागरिकता विधेयक अगाडि बढ्ने र कानुन बनेर आउने पनि बताए । भने, “नागरिकता विधेयक फेरि अगाडि बढ्छ र कानुन बनेर आएपछि नागरिकतासम्बन्धी अहिले देखिएका समस्या समाधान हुन्छ ।”

यो विषयलाई धेरै विवादित बनाइरहन नपर्ने र राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नेमा आफू ढुक्क भएको भन्दै प्रचण्डले यसबाट संकट आउने आफूले नदेखेको सुनाए । उनले पछिल्लो समय राष्ट्रपतिको गतिविधि अस्वभाविक देखिएको भए पनि त्यसले संकट नल्याउने बताए ।

पार्टीको केन्द्रीय र स्थायी समितिमा एकैपटक १० जना महिला लगेको र यो पूर्णत समावेशी बनेको प्रचण्डले बताए । उनी सुनसरीको धरानमा आयोजना हुने पार्टीको कार्यक्रममा सहभागी हुनका लागि आएका हुन् ।