संसद्मा आज पनि उठाइयो गणपूरक संख्याको प्रश्न
मुन्धुमस्टार
प्रतिनिधिसभाको बैठकमा आज पनि गणपूरक संख्याको प्रश्न उठाइएको छ । यही साउन २५ गते गणपूरक संख्यामै प्रश्न उठाइएपछि काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक रोकिएको थियो ।
सोही विधेयक निर्णयार्थ प्रस्तुत गर्न लाग्दा सांसद प्रेम सुवालले गणपूरक संख्याका विषयमा प्रश्न उठाए । त्यसपछि तीन मिनेट घण्टी बजाएर संख्या यकिन गरिएको थियो ।
संसद्को काम–कारबाही सञ्चालन गर्न एकचौथाइ अर्थात् ६९ सांसद हुनुपर्नेमा आज भने ९० जना उपस्थित रहेको पाइयो । तीन मिनेटसम्म लगातार घण्टी बजाउँदा बाहिर रहेका सांसदहरू पनि उपस्थित भएका थिए ।
योसँगै प्रतिनिधिसभाबाट सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक बहुमतले पारित भएको छ ।



