कार्यकक्षमा तोडफोड गर्ने दुई जनाविरुद्ध मेयर साम्पाङले दिए प्रहरीमा जाहेरी
धरान उपमहानगरपालिकाको नगरप्रमुखको कार्यकक्षमा तोडफोड र गालीगलौजको विषयलाई लिएर नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले दुई जना विरुद्ध प्रहरीमा जाहेरी दिएका छन् ।
आइतबार बराह बचत तथा ऋण सहकारीबाट ठगीएका पीडित सङ्घर्ष समितिले नगरप्रमुख साम्पाङविरुद्ध नाराबाजी गर्दै कार्यकक्षको सिसा समेत तोडफोड गरेका थिए। वार्ताको लागि तयारी भइरहेको बेला नगर प्रमुख साम्पाङले मलाई सोधेर रकम राखेको हो ? भनेपछि आक्रोसित पीडितहरूले कार्यकक्षमा तोडफोड गरेको बताइएको छ ।
साम्पाङले सोमबार इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिएका छन्। इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले नगर प्रमुख साम्पाङले जाहेरी दिएको बताए ।
बराह पीडित सङ्घर्ष समितिका संयोजक खगेन्द्र नेपाली र समितिका प्रवक्ता प्रदिप बास्तोलाविरुद्ध जाहेरी दिएको बताइएको छ। उनीहरूलाई पक्राउ गर्नका लागि अदालतबाट पुर्जी लिने तयारी गरेको प्रहरीले जनाएको छ। हुलहुज्जत र अभद्र व्यवहारको जाहेरी आएको र प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सञ्जयसिंह थापाले जानकारी दिए ।
आइतबार छानबिन समितिसँगको वार्तामा बस्ने क्रममा मेयर साम्पाङले ‘मलाई सोधेर पैसा राख्न दिएको हो ?’ भन्ने अभिव्यक्ति दिएको भन्दै पीडितहरूले नगरप्रमुख विरुद्ध नाराबाजी गर्दै उनको कार्यकक्षको सिसासमेत फुटाई दिएका थिए ।
यता नगरप्रमुख साम्पाङले भने ‘यो राजनीतिक षड्यन्त्र भएकाले प्रहरीमा उजुरी दिएको छु, यो व्यक्तिमाथिको आक्रमण नभई नगर र स्थानीय सरकार माथिकै आक्रमण हो ।’



