नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचनमा सहज तालमेल हुने बताएका छन् । सहज तालमेल हुँदा कांग्रेसपछि दोस्रो ठूलो दल माओवादी हुने प्रचण्डको दाबी छ ।

कांग्रेस नेताहरूसँग यस विषयमा छलफल गरिसकेको भन्दै उनले कांग्रेसले सहयोग नगरे सहकार्य हुन नसक्ने बताए ।

शनिबार पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले संघ र प्रदेशको निर्वाचनमा स्थानीय तहको निर्वाचनमा ‘गडबड’ हुन नदिने बताए ।

संघ र प्रदेशको निर्वाचनमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने उनको भनाइ छ । स्थानीय तहमा गठबन्धनबीच तालमेल जटिल रहेको भन्दै यसपटक टिकट वितरणमा समस्या आउन नदिने बताए ।

उनले आगामी निर्वाचन स्थानीय तहभन्दा राम्रो नजिता ल्याएर देशको बागडोर नै सम्हाल्ने गरी जानुपर्ने बताए । स्थानीय चुनावबाट माओवादी भनेको माओवादी केन्द्रमात्र भएको पुष्टि भएको भन्दै प्रचण्डले मोहन बैद्य नेतृत्वको माओवादी, बिप्लव माओवादीको कुनै अर्थ नरहेको र बाबुराम माओवादी नै नभएको तर्क गरे ।

प्रचण्डले आगामी मंसिर ४ गते निर्वाचन गर्ने गरी मिति तोक्ने सम्भावना रहेको भन्दै तीन महिनामा माओवादीलाई बलियो बनाउने गरी तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

नेपालको राजनीतिक परिवर्तन आफ्नै पार्टीका कारण सम्भव भएको दाबी गर्दै प्रचण्डले समावेशी, समानुपातिक प्रणाली माओवादी कै कारण सम्भव भएको बताए ।

प्रचण्डले मुलुकमा बलियो कम्युनिष्ट पार्टी बनाउनका लागि अघि बढे पनि केही व्यक्तिको स्वार्थका कारण सफल हुन नसकेको जिकिर गरे । उनले तत्काल समाजवादी केन्द्र बन्ने कुनै सम्भावना नरहेको र गठबन्धनलाई नै बलियो बनाएर अघि बढ्ने स्पष्ट पारे ।