काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् ।

आज (शुक्रबार) काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा पराजित भएका प्रतिगामी शक्तिहरू अहिले विभिन्न बहानामा जुर्मुराइरहेको भन्दै लोकतन्त्रलाई उल्ट्याउने षड्यन्त्र सहन नसकिने चेतावनी दिए ।

अध्यक्ष भट्टराईले अहिलेको निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्नुको कारण लोकतन्त्र र संविधानको रक्षा भएको दावी गरे । उनले आगामी निर्वाचनमा प्रतिगामी शक्तिहरुलाई निस्तेज पार्नुको कुनै विकल्प नभएको बताए । उनले देशमा विकास र समृद्धि, सुशासन दिन नसक्दा युवाहरुमा निराशा छाएको भन्दै शीर्ष तहले यसको उचित सम्बोधन गर्न जरुरी रहेको बताए ।

‘पहिलो संविधान सभाबाट जुन एउटा गठबन्धनको सरकार बन्यो, त्यसले पनि ५ वर्ष पूरा गर्न सकेन । बरु उल्टै हिजो संघीय लाकतान्त्रिक गणतन्त्रका निम्ति लडेका, लागेका हाम्रा कतिपय साथीहरुको मतिभ्रष्ट भएर भनौँ, विभिन्न शक्तिहरुको चलखेलको कारणले भनौँ फेरि त्यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई धराशायी पार्ने खालका कामहरु भए । त्यसैलाई यो प्रतिगमनविरोधी संघर्ष भनेर फेरि यो प्रतिगमनलाई रोक्नको निम्ति हामी एक ठाउँमा आयौँ । त्यही क्रममा यो वाम र लोकतान्त्रिक गठबन्धन हामीले निर्माण गरेको हो,’ उनले भने ।अध्यक्ष भट्टराईले आगामी निर्वाचन गठबन्धन दललाई कुनै पनि हालतमा जिताउनै पर्ने भन्दै देशका लागि आगामी ५ वर्ष स्थिरता र असन्तोषलाई पूरा गर्ने समय भएको बताए । विगतका कमजोरीलाई आत्मसाथ गरेर अघि बढ्न आवश्यक रहेको उनको भनाइ छ ।

नेकपा एमालेप्रति लक्षित गर्दै केशरजंग रायमाझीधार बोकेका शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुनिरहेको उनले बताए । उनले पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार रहेको दाबी गरे ।

उनले भने, ‘अहिले प्रतिगमनको नेतृत्व गरिरहेको जुन शक्ति छ, त्यसले नेपालको वामपन्थी आन्दोलनको मूलधार पुष्पलालहरुले नेतृत्व गरेको जुन धार हो, त्यो भन्दा विपरित सामन्तवादलाई नजिक ठान्ने केशरजंग रायमाझी धार बोकेका जुन शक्तिहरुले पुराना सामन्तवादी शक्तिहरुसँग मिलेर नयाँ ढंगले प्रतिगमनको तानामाना बुन्दैछन्, त्यो अत्यन्त घातक छ । हामीले त्यो खतराबाट बच्नुपर्छ । पुष्पलालले अघि बढाएको धार र पछिल्लो समय प्रचण्ड र बाबुरामले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त छ ।’