सम्पूर्ण निर्णय आम सहमतिबाट”नै भएको हो: कांग्रेस प्रवक्ता महत

मुन्धुमस्टार डटकम- नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक सूचि पार्टीभित्र सबैको सहमतिबाटै पेस गरिएको स्पष्ट पारेको छ।
शेखर कोइराला समूहका दोस्रो तहका नेताहरूले संस्थापन पक्षले एकलौटी र मनोमानी गरेको भन्दै आन्दोलनको घोषणा गरेको बेला कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले सहमतिबाटै बन्दसूचि पेस गरेको स्पष्ट पारेका हुन्।
पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता महतले कांग्रेसभित्रको सर्वसहमतिबाटै समानुपातिक बन्दसूचि निर्वाचन आयोगमा पेस गरिएको बताए।
उनले भने, पदाधिकारी, पूर्व पदाधिकारीको सहभागिता र सहमतिबाटै निर्णय भएको छ। यसमा कुनै सत्यता छैन। सम्पूर्ण निर्णय आम सहमतिबाट भएको हो। सबैलाई समावेश गरेर समानुपातिक बन्द सूचि पेस गरिएको छ। केहि त्रुटी हुन सक्छन्। तर, एकलौटी गरिएको छैन।
उनले कांग्रेस एकतावद्ध भएर गठबन्धनलाई विजयी गराउन आवश्यक रहेको बताए। महतले भने, यो ठूलो पार्टी हो। सबैका आकांक्षा पूर्ति नहुन सक्छ। गठबन्धनलाई सफल बनाउन हामी लाग्नेछौं। उनले पार्टी हितविपरीत भइरहेका कृयाकलापहरु नियालिरहेको बताए।