संसद्को अन्तिम बैठकमा ओली र दाहालको जुहारि: ओलि र चोलेन्द्रको साँठगाँठ रहेको दाहालको भनाई

मुन्धुमस्टार डटकम — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंसिर ४ गते हुने निर्वाचनमा जनताले सही गलत भएर फैसला गर्ने बताएका छन । उनले जनताले दिएको फैसला सबैलाई स्वीकार्य हुने बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको भनाइप्रति लक्षित गर्दै मंसिर ४ ले सबैको फैसला गर्ने बताए । बैठकमा बोल्दै विपक्षी दलका नेता ओलीले मंसिर ४ मा थाहा हुन्छ, हेरौँला भनेका थिए ।
‘हाम्रो प्रतिपक्षी दलका नेताले भन्नुभयो मंसिर ४ गते थाहा हुन्छ, हेरौँला भनेर । म विनम्रतापूर्वक उहाँलाई सम्झाउन चाहान्छु,’ दाहालले अघि भने, ‘राष्ट्रिय सभा सदस्यको निर्वाचनदेखि स्थानीय तहको निर्वाचनसम्मले सन्देश दीसकेको जस्तो लाग्छ । तर मलाई लागेको थियो प्रतिपक्षी दलको नेताले त यहाँसम्म आउँदा विघटन दुईदुई पटक बेकारमा गरिएछ । मैले स्थायित्व र विकासलाई अवरोध गरेछु । स्थायित्वलाई अस्थिरतामा लगेछु भन्नुहोला र राम्रो वातावरण बन्ला सोचेको त फेरि उहि अहंकार ? ठिकै छ मंसिर ४ गते हेर्ने, तपाइँले पनि हेर्नुहुन्छ, हामीले पनि हेर्छौं । जनताको फैसला स्वीकार गर्ने नै हो ।’
यसअघि एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्ने क्रममा वर्तमान सरकारलाई आरोप लगाउँदै घोचपेच गर्न थालेपछि दाहालले आफू पनि जवाफ दिन बाध्य भएको बताएका थिए । ओलीले प्रतिनिधिसभा विघटनको निर्णयको बचाउ गर्दै सरकारप्रति कटाक्ष गरेका थिए । शनिबार संसद्को अन्तिम बैठकमा ओलीको प्रस्तुती यस्तो अपेक्षा नगरेको भन्दै दाहालले पनि जवाफी प्रतिक्रिया दिएका थिए ।
पार्टीभित्रको विवाद र मतभेदलाई हल गर्ने तरिका पार्टीभित्र नै खोज्नुपर्नेमा ओलीले संसद्माथि प्रहार गरेको दाहालको भनाइ थियो । पार्टीभित्र विवाद, मतभेद, अन्तरविरोध हुन्छन । ती हल गर्ने आफ्नै वैधानिक व्यवस्था र मान्यता छन । त्यसलाई ल्याएर जनताद्वारा निर्वाचित सार्वभौम संस्थामाथि प्रहार गर्ने अधिकार उहाँलाई कसले दियो ?, उनले प्रश्न गरेका थिए ।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महाभियोग सिफारिस समितिमा दिएको बयानले तत्कालीन प्रधानमन्त्री ओलीसँग साँठगाँठ रहेको कुरा खुल्न आएको दाहालको भनाइ थियो । अदालतलाई गलत ढंगले प्रभावमा पार्ने काम त अघिल्लो सरकार र त्यसको नेतृत्वले गरेको रहेछ भन्ने पो पुष्टि भएको छ । तर, उहाँलाई परामादेश भनेर नकरात्मक टिप्पणी गर्ने अधिकार कहाँबाट प्राप्त भयो ? दाहालले सोधे ।
देशलाई संवैधानिक दुर्घटनाबाट बचाउन, संविधान, लोकतन्त्र र राष्ट्रको रक्षा गर्ने उद्देश्यका साथ असंवैधानिक कदमलाई सुधार गरेर वर्तमान गठबन्धन सरकार बनेको दाहालको भनाइ थियो ।