मुन्धुमस्टार डटकम — जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष एवम पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले संसद्‌ले दोहोर्‍याएर पारित गरेको नागरिकतासम्बन्धी विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण गर्नुको विकल्प नरहेको बताएका छन । संघीय संसद्‌को दुवै सदनले पुनः पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयकले स्वतः ऐनको रुप लिने दाबी गर्दै उनले सो विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने तर्कसमेत गरे ।

प्रतिनिधिसभा बैठकमा शनिबार बोल्दै अध्यक्ष यादवले सो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नभए मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्ने चेतावनीसमेत दिए । उनले भने,‘कुनै पनि पार्लियामेन्टले दोहोर्‍याएर पारित गरेपछि त्यो स्वतः ऐनको रुप लिन्छ । यसले संसदीय मर्यादाकै खिल्ली उडेको छ । संसद्‌ले पारित गरिसकेपछि तिनलाई प्रमाणीकरणबाट रोक्न मिल्दैन । संसद्‌ले पारित गर्दै जाने तर प्रमाणीकरण नहुने हो भने के हालत हुन्छ, लोकतन्त्रको, संघीय व्यवस्थाको ? त्यसकारणले म भन्छु, संघीय व्यवस्था, संसदीय लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्न गएको छ । धरापमा पर्न जाँदैछ । यसका संकेतहरु देखिएका छन । यसप्रति सचेत रहन जरुरी छ ।’

अध्यक्ष यादवले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सन्तोषजनक नरहेको टिप्पणीसमेत गरे । मधेसी, आदिवासी जनजातिलगायत सबै समुदायको स्वामित्व हुने गरी संविधान संशोधन गर्ने काम गर्न प्रतिनिधिसभाले नसकेको उनको गुनासो थियो । अध्यक्ष यादवले भने, ‘आज पनि संविधान संशोधन गरेर संघीयतासम्बन्धी, प्रदेशका क्षेत्राधिकार र सिमांकनलगायत विषयमा छलफल गर्नुपर्ने, संशोधन गर्नुपर्ने, शासकीय स्वरुपका सम्बन्धमा बहस गर्नुपर्ने थियो । निर्वाचन प्रणालीका सम्बन्धमा बहस, छलफल भएर संशोधन गर्नुपर्ने थियो ।

त्यस्तै न्याय प्रणालीका सम्बन्धमा समावेशितालगायत विषय संविधान संशोधन गरेर अगाडि बढनु पर्दथ्यो । तर, त्यसो हुन सकेन । एउटै संसद बरु उल्टै असंवैधानिक तरिकाले सम्मानित सर्वोच्च अदालतले समेत असंवैधानिक तरिकाले संसद पटक-पटक भंग गरिएको, एउटै सरकारले एउटै संसदलाई पटक-पटक भंग गरेको इतिहास नेपालमै कायम भयो । उनले केपी ओली नेतृत्वको अघिल्लो सरकारले प्रतिनिधिसभा विघटन गरेर मुलुकमा प्रतिगामी कदम चालेको तर त्यसलाई सत्तारुढ पाँच दलको गठबन्धनले रोक्न सफल भएको पनि बताए।