संसद्को ५ वर्षे कार्यकाल अत्यन्तै खराब रह्यो: अध्यक्ष नेपाल
मुन्धुमस्टार डटकम — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विकास र सुशासनको दृष्टिले संसद्को पाँच वर्षे कार्यकाल राम्रो नभएको भन्दै आलोचना गरेका छन ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले संसद्को पाँच वर्षे कार्यकाल अघिल्लो निर्वाचनपछि अनुमान गरिए अनुरुप नभएको बताए । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेपछि संसद्को पाँच वर्षे कार्य अवधि असोज १ गतेदेखि सकिँदै छ ।
संसद्को अवधि सकिनुअघि समीक्षात्मक टिप्पणी गर्ने क्रममा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिएका हुन । उनले केही नेताहरू को चरम व्यक्तिवाद र अहंकारका कारण मुलुक अन्योलको दिशातर्फ गएकोमा चिन्ता व्यक्त गरे । देशमा सुशासन हुन नसक्नु र विकासको काम अगाडि नबढ्नुले आफू चिन्तित रहेको पनि उनको भनाइ थियो ।
यथास्थितिमा देशलाई अगाडि बढाउन नसकिने भन्दै अध्यक्ष नेपालले विचार र कार्यशैलीमा रुपान्तरणको आवश्यकता रहेको उनले औंल्याएका थिए । ‘राष्ट्रको विकासको हिसावले, सुशासनको हिसाबले यो पाँच वर्षको कार्यकाल अत्यन्तै खराब । अत्यन्तै नराम्रो भन्न सकिन्छ । राज्य सञ्चालनको तरिकासँग म सहमत छैन । राज्यमा जुन ढंगले सुशासनको मान्यतालाई अवलम्वन गर्नुपर्ने कुरा हो त्यो हुन नसकेको कुराले म अत्यन्तै चिन्तित छु । दोस्रो, देशको विकासको सन्दर्भमा जुन दूरदृष्टि राखेर समग्र विकासको कामलाई अघि बढाउने कुरा हो । त्यो पनि नभएको देख्दा म सन्तुष्ट छैन । यो मुलुकमा विचारमा, कार्यशैलीमा पुनर्गठनको, रुपान्तरणको आवश्यकता छ,ं नेता नेपालले भने ।
यसैबीच अध्यक्ष नेपालले गठबन्धनको सिट बाँडफाँटमा ६० प्रतिशतभन्दा बढी सिटमा सहमति भइसकेको पनि बताए । उनले ठूला पार्टीहरूले सबै सिट लिन खोज्दा समस्या खडा भएको टिप्पणी गरे ।



