चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्षको शीर्ष नेताहरुसँग भेटवार्ता: नेपालले एसपिपी अस्वीकार गरेकोमा धन्यवाद
मुन्धुमस्टार डटकम- नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झाङ्सुले चीन बाह्य शक्तिहरूको प्रभाव नभएको शान्त र स्थिर नेपालको पक्षमा रहेको बताएका छन् । नेपालमा बाह्य शक्तिहरूले शान्ति र स्थायित्व खलबल्याउन खोजेको संकेत गर्दै उनले नेपालको शान्ति चीनको स्थिरता र सुरक्षाका लागि महत्वपूर्ण रहेको उल्लेख गरेका छन् ।
मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भएका बेग्लाबेग्लै भेटवार्तामा लीले पश्चिमा प्रभुत्व नेपालले अस्वीकार गर्नुपर्नेमा जोड दिएका छन् । लीसँगको भेटमा सबै शीर्ष नेताले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याएका छन् । अध्यक्ष लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा। नारायण खड्काले अध्यक्ष लीसँग बेग्लै शिष्टाचार वार्ता गरेका थिए ।
अध्यक्ष लीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) कार्यान्वयन नगर्ने नेपालको निर्णयको स्वागत गर्दै अमेरिकी सहायता परियोजना (एमसिसी) दुरुपयोग नहोस भन्नेमा चिन्ता व्यक्त गरेका छन् । भेटमा सहभागी नेताहरूका अनुसार अध्यक्ष लीले एसपिपी नेपालले अस्वीकार गरेकोमा धन्यवाद दिँदै एमसिसी परियोजनाको दुरुपयोग नहोस भन्नेमा चिन्ता जनाएका हुन् । उनले अमेरिकालाई लक्षित गर्दै पश्चिमा प्रभुत्व नेपालले अस्वीकार गर्नुपर्ने पनि बताए । सबै नेताहरूसँग उनले विगतमा भएका सहमतिअनुसार केरुङ–काठमाडौं रेलको सम्भाव्यता अध्ययन गर्ने र टोखा–छहरे सुरुङमार्ग निर्माणलगायतका सहमति कार्यान्वयन गर्ने वचन दिएका थिए ।
लीसँगको भेटमा सहभागी माओवादी सचिव एवं भूराजनीतिका जानकार सुरेन्द्र (राम) कार्कीले यहाँको भूराजनीतिबारे चिनियाँ नेता ली कूटनीतिक रूपमा प्रस्तुत भएको बताए । ‘उहाँले यो क्षेत्रको शान्ति र स्थिरताले चीनको पनि शान्ति र स्थिरतामा असर पर्ने बताउनुभएको थियो,’ कार्कीले नयाँ पत्रिकासँग भने, ‘लीको बाह्य शक्तिहरूको प्रभाव नभएको शान्ति र स्थिरता नेपालमा कायम होस भन्ने स्पष्ट सन्देश थियो ।’



