उठेर दुई कदम हिँड्न नस्क्ने बुढोले टीकट दाबि नगरे हुन्थियो: अध्यक्ष नेपाल
मुन्धुमस्टार डटकम — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा टिकट व्यवस्थापन गर्न पार्टीभित्र समस्या भइरहेको बताएका छन । यस क्रममा वृद्धावस्थामा पुगेका नेताहरूले पनि उम्मेदवार बन्न दाबी गरेको भन्दै उनीहरूलाई व्यवस्थापन गर्न मुस्किल भएको अध्यक्ष नेपालले बताए ।
अध्यक्ष नेपालले निर्वाचनमा टिकट लिनका लागि नेताहरूले चर्को दाबी गरिरहेको भन्दै त्यसको व्यवस्थापन गर्न पार्टीलाई समस्या भइरहेको बताए । बुधबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी सहकारी संगठन, नेपालको घोषणा कार्यक्रममा उनले यस्तो बताएका हुन ।
दाबी नगरे पनि हुन्थ्यो भन्ने नेताहरूले पनि चर्को रुपमा उम्मेदवार बन्न दाबी गरेको पनि उनको भनाइ थियो । नेता नेपालले भने, सबैलाई टिकट चाहिएको छ । अब टिकट नपाउने हो भने कता फेन्ट हुने हो थाहा छैन । भनेपछि चाहना हेर्ने हो भने आकाशिएको छ । सबै एकदम काबिल भएर आएका छन । को काबिल छ, को काबिल छैन ? त्यो छुट्टयाउने आधार हामीले बनाउन सकिरहेका छैनौं । दाबी नगरे पनि हुन्थ्यो नि भन्ने पनि चर्को दाबी गरिरहेका छन । उठेर दुई कदम हिँड्न सक्दैन, बिचरा बूढो भइसक्यो । तैपनि मर्ने बेलामा एकचोटी त पाऊँ, अरु केही भएन भने नाम भए पनि त्यहाँ टाँसिन पाऊँ । के होला, कस्तो गाह्रो ?’
अध्यक्ष नेपालले ती आकांक्षीहरुमा टिकट नपाउने हो भने बेहोस हुने हो कि भन्ने आफूलाई चिन्ता लागेको भन्दै कटाक्ष गरे । यसैबीच अध्यक्ष नेपालले पार्टीका नेता, कार्यकर्ताहरुलाई कुनै व्यवसाय वा रोजगारीमा जोडिन पनि पटकपटक सचेत गराएका थिए । त्यसका लागि सहकारीको अवधारणा सबैभन्दा उपयुक्त रहेको उनको सुझाव थियो।



