मुन्धुमस्टार डटकम​- जनता समाजवादी पार्टी (जसपा) खोटाङले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संघीय परिषद अध्यक्ष अशोक राईको नाम सिफारिस गरेको छ। जसपा जिल्ला समन्वय समिति खोटाङको भदौ ११ र १२ मा बसेको बैठकले अध्यक्ष राईको नाम सिफारिस गरेको हो।

खोटाङको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानी स्थायी घर भएका अध्यक्ष राई खोटाङबाट दुईपटक सांसद बनिसकेका छन्।  ०४८ सालको आमनिर्वाचनमा क्षेत्र नम्बर ३ र ०५१ सालको मध्यावधिक निर्वाचनमा क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)बाट निर्वाचित भएका थिए।

संघीय परिषद् अध्यक्ष राईसँगै राजनीतिक समिति सदस्य डा. कृष्णकुमार राईको नामसमेत सिफारिस गरिएको जसपा खोटाङले जनाएको छ। समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमाया राई, किराँत राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनील चाम्लिङको नाम पनि सिफारिस गरिएको छ।

प्रदेश (क) मा प्रत्यक्षमा संघीय परिषद् सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, संघीय परिषद् सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको नाम सिफारिस गरिएको छ। समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमाया राई, जिल्ला समिति उपाध्यक्ष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिंह राई र जिल्ला सदस्य झुमा पोखरेलको नाम राखिएको छ।

प्रदेश (ख) प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किराँत राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको छ। समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रविन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुँयालको नाम परेको छ।