प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्ट नेताहरुको अपराधिक गठबन्धनलाई चुनावमा जनताले पराजित गर्ने बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न एमाले तयार रहेको भन्दै चुनावमा जनताले गठबन्धनलाई ठेगान लगाउने दाबी गरेका हुन् ।

गृहनगर दमकमा स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बने पनि त्यो नेताको मात्र गठबन्धन भएको भन्दै त्यसमा जनता सहभागी नरहेको उल्लेख गरेका छन् ।

गठबन्धन जो सुकैले जे गरुन्,एमालेको सरकार बन्छ, किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन्। भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन् ओलीले भने ।

अध्यक्ष ओलीले राजनीतिक रुपमा नसकेपछि प्रचण्ड-माधव नेपालहरुले कम्युनिष्ट पार्टिको सरकार ढाल्न प्रतिक्रियावादीको सहारा लिएर परमादेशमार्फत गठबन्धन बनाएको आरोप समेत लगाएका छन्। ओलीले एमालेलाई हराउन नसक्ने भएपछि ८-१० ओटा गठबन्धन गर्न लागेको समेत बताए ।