प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा उनको पार्टीको बहुमत आउनबाट रोक्नका लागि सत्ता गठबन्धनले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

उनले सत्ता गठबन्धनले जति प्रयास गरे पनि नेपाली जनता आफ्नो पार्टीलाई बहुमत दिन दृढ रहेको जिकिर गरे । एमालेको नीति र संगठनमा आबद्ध भएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने कुरामा आमजनता दृढ रहेको उनको भनाइ छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सेना र प्रहरी समेत एमालेको नेतृत्वमा मात्र मुलुक अगाडि बढ्छ भन्ने विश्वासमा रहेको उल्लेख गरे । अध्यक्ष ओलीले त्यसबाट सत्ता गठबन्धन अत्तालिएको टिप्पणी गरे ।

अध्यक्ष ओलीले आउँदो निर्वाचनमा एमाले विजयी हुनैपर्ने दोहोर्‍याए । देशलाई माथि उठाउनका लागि एमालेको विकल्प नभएको उनको तर्क थियो ।