मोरङमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन
मोरङमा राष्ट्रिय परिचयपत्रका लागि अहिलेसम्ममा दुई लाख २२ हजार एक सय ३१ जनाको विवरण सङ्कलन भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र जिल्ला प्रशासन कार्यालय मोरङद्वारा हालै आयोजित एक कार्यक्रममा सो जानकारी गराइएको हो। नेपालमा सबैभन्दा पहिले प्रदेश नं १ को पाँचथर जिल्लाबाट सुरु भएको यो अभियान मोरङमा गएको असोजदेखि सुरु भएको थियो ।
यस प्रदेशमा अहिले १३ जिल्लामा अभियान सञ्चालन रहेको बताइएको छ। सन् २०२४ सम्ममा सम्पन्न हुुनुुपर्ने यो अभियानका लागि देशभार सात हजार कर्मचारी परिचालन भएको र रुजु गर्ने अधिकारीहरू पनि परिचालन भएका जानकारी पनि उनले दिए ।
प्रदेशमा सोलुखुम्बु जिल्लामात्र अभियान सञ्चालन गर्न बाँकी रहेको र गलत विवरण दिने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको पनि बताइएको छ। यो परिचयपत्रका लागि देशभरिमा हालसम्म ३३ जिल्लामा सम्पन्न भई ७५ लाख मानिसको विवरण सङ्कलन भइसकेको छ ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राष्ट्रिय परिचयपत्र बनाउन नागरिक स्वयं सक्रिय हुनुपर्ने बताए । रासस



