अमेरिकाको प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले मंगलबार मलेसिया छोडेकी छन् । यसपछि अब उनले आजै राति ताइवानको भ्रमण गर्ने अपेक्षा गरिएको छ ।

स्वशासित टापुलाई आफ्नो क्षेत्र दाबी गर्ने बेइजिङसँगको तनाव बढ्दै गएको बेला अमेरिकी सभामुखले त्यहाँ भ्रमण गर्न लागेकी हुन् ।

पेलोसी र उनको प्रतिनिधिमण्डल बोकेको विमान मलेसियाको वायुसेना वेसबाट एक छोटो भेटपछि प्रस्थान गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । उक्त भेटमा मलेसियाका प्रधानमन्त्री इस्माइल साबरी याकोबसँग लञ्च बैठक भएको एक अधिकारीले नाम नछाप्ने सर्तमा बताए । बैठकको विस्तृत विवरण बाहिर आउन बाँकी छ ।

पेलोसी यस हप्ता एसियाली भ्रमणमा छिन् । उनले चीनको चेतावनीको बाबजुद ताइवान भ्रमण गर्छिन् कि भनेर नजिकबाट हेरिएको छ ।

मलेसियाबाट उनी कहाँ जाँदै छिन् भन्ने स्पष्ट भएको छैन । तर, ताइवानका स्थानीय मिडियाले रिपोर्ट गर्दै उनी आजै राति त्यहाँ पुग्ने अपेक्षा गरिएको छ ।

उनी ताइवान भ्रमण गर्ने २५ वर्षमा पहिलो उच्चस्थ निर्वाचित अमेरिकी हुनेछिन् । युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्स ताइवानका तीन ठूला राष्ट्रिय पत्रिकाहरूले अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै उनले ताइवानमा रात बिताउने बताएका छन् ।

स्रोत : एपी