किरात प्रदेश माग गर्दै प्रदेशसभा अगाडि भब्य साकेला प्रदर्शन
बिराटनगर प्रदेश १ प्रदेशसभा अगाडि किरात प्रदेशको माग गर्दै किरात राई यायोख्खाले साकेला नाच प्रदर्शन गरेका छन् ।
प्रदेशसभा सचिवालयमा आज सर्वदलीय बैठक आव्हान गरिएको छ । बैठकमा प्रदेशको नामकरणको विषयमा छलफल भैरहेको छ ।
उक्त छलफलमा किरात प्रदेश नामकरण गर्न दबाब दिँदै यायोख्खाले प्रदर्शन गर्दै आएका छन् ।
राजनीतिक दलहरूले प्रदेश नामकरणका लागि प्रयास तीव्र पार्दा यसअघि देखि नै आन्दोलनमा रहेका विभिन्न समूहहरूले दबाब पनि तीव्र पारेका छन्।
संसद्को जारी बर्खे अधिवेशनबाटै प्रदेश नामकरण टुंग्याउने कसरतमा जुटेका दलहरूलाई दबाब दिन यतिबेला किरात नामका पक्षधरहरूले सक्रियता बढाएका छन्।
पहिचानको नाम किरात प्रदेश हुनुपर्छ भन्दै आदिवासी किरात महासंघले मुख्यमन्त्री, सबै दलको प्रमुखलाई ज्ञापन पत्र बुझाएको थियो भने किरात लिम्बुवान हुनुपर्छ भनेर याक्थुम चुम्लुङ लागेको छ ।
नेपालका सात प्रदेश मध्ये पाँचवटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाएका छन् । प्रदेश–७ ले सुदूरपश्चिम, ६ ले कर्णाली, ४ ले गण्डकी र ३ ले बाग्मती नाम राखेका हुन् । प्रदेश–५ ले लुम्बिनी नाम गरेको छ । त्यस्तैगरी प्रदेश २ ले मधेश प्रदेश राखेर पहिचानको नाम राखेसगंसंगै प्रदेश १ लाई पनि पहिचानसहितको नाम राख्न दबाब थपेको छ ।
पहिचानवादीलाई माओवादी केन्द्रलगायतको समर्थन छ । पहिचानवादीहरू लिम्बुवान, खुम्बुवान, किरात र लिम्बुवान–खुम्बुवान–किरा मध्ये एउटा प्रदेशको नाम हुनुपर्ने अडानमा छन् । ३ सदस्यीय प्रदेश सभामा एमाले सांसद ३९ (सभामुखसहित) जना छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५ (१६ मध्ये १ पदमुक्त), एकीकृत समाजवादी १०, जसपा ३ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना छन्। प्रदेशमा दुई तिहाइ संख्या पुर्याउन ६२ जना आवश्यक पर्छ।
प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान बिराट कोशी आदी के होला भन्ने सबैको मनमा खुल्दुली रहेको छ । प्रदेशको नाम कोसी, सगरमाथा, किरात, किरात–सगरमाथा, लिम्बुवान, खुम्बुवानलगायत हुनुपर्ने माग छ ।
देशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा परेपनि प्रदेश–१ मा भने पहिचान पक्षधरको मत बलियो रहेकाले प्रदेशको नाम किरात रहने सम्भावना बलियो छ । प्रदेशको नाम किरात मात्रै नरहे पनि कोशी किरात वा सगरमाथा किरातमध्ये एक हुने सम्भावना बलियो छ । प्रदेशको राजधानी तोक्ने समयमा नेकपा सांसदको मत किरात, कोशी र सगरमाथामा बाँडिएको थियो । तर पछिल्लो समय सगरमाथा किरात र कोशी किरात नाम चर्चामा छ ।



