चीनले अनुदानमा दिने प्रतिबद्धता जनाएको १० लाख मात्राको भेरो सेल कोभिड खोप आगामी हप्ता नेपाल आईपुग्ने

मुन्धुमस्टार डटकम – बेइजिङस्थित नेपाली राजदूतावासका उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार चीनले दिने प्रतिबद्धता जनाएको भेरो सेल खोप आगामी हप्ताको सुरुसम्ममा नेपाल आइपुग्नेछ।
उनले भने, “चीनले उपलब्ध गराउने १० लाख मात्रा खोपमध्ये आठ लाख मात्रा बेइजिङमा तयार अवस्थामा राखिएको छ। त्यसलाई यही मे महिनाको अन्त्यसम्म वा जुनको सुरुमा नै काठमाण्डौँ पठाउने भन्ने कुरा छ।”
उनले बेइजिङबाट नेपाल पठाइने खोप ‘चाइना एड’ नामक चिनियाँ सहायता निकायमार्फत् आउन लागेको उल्लेख गरे। त्यसलाई काठमाण्डूसम्म ल्याउने जिम्मेवारी भने नेपाल सरकारको हुनेछ।
त्यसबाहेक थप दुई लाख मात्रा खोप तिब्बत सरकारले उपलब्ध गराउन लागेको बताइएको छ।
त्यहाँबाट प्राप्त हुने खोप कुन्मिङबाट आगामी सातासम्ममा काठमाण्डू पठाइने र त्यसको व्यवस्था तिब्बत सरकारले मिलाउने नियोग उपप्रमुख लम्सालले बताए।
भारतमा कोरोनाभाइरसको महामारी बढेका कारण कोरोनाभाइरसविरुद्धको कोभिशील्ड खोप निर्यातमा नयाँ दिल्लीले कडाइ गरेपछि नेपालले अरू कूटनीतिक प्रयासहरू अघि बढाएको छ।
जस अनुसार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले यसै साता आयोजित पत्रकार सम्मेलनमा अमेरिका, रुस, चीन र युरोपेली सङ्घसहितका निकायसँग खोप उपलब्ध गराउनेबारे कुरा गरेको बताएका थिए।