काठमाडौँ: ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘नेपाल नागरिकता ( पहिलो संशोधन ) विधेयक २०७८’ नेपालस्थित इन्डियाली आप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा आसीन गराउने षड्यन्त्रको पुलिन्दा भएको आरोप लगाएको छ ।

मोर्चाले सरकारको यो कार्य राष्ट्रघाती भएको उल्लेख गर्दै घोर भर्त्सना समेत गरेको छ ।

यो अध्यादेश वर्षौंदेखि तराईका जमिनदारको घरमा आश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर इन्डियाबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल आउने आप्रवासी युवतीहरूलाई सिन्दुर-पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको मोर्चाद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

‘यसका अतिरिक्त यस अध्यादेशको सबभन्दा ठूलो बदनियत इन्डियामा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही जन्मका आधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाउनु हो ।’, ’ मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

मोर्चाले यो अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका आदिवासी-मूलवासीमा पर्ने देखिएको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसबाट पर्ने असरको निदान खोज्न तराईमूलका युवाहरूलाई आग्रह गरेको छ।

 

प्रेस विज्ञप्तिको पूर्णपाठ:

यही जेठ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी `नेपाल नागरिकता ( पहिलो संशोधन ) विधेयक २०७८´नेपालस्थित इन्डियाली अाप्रवासीका सन्तानलाई नेपालको राजनीतिक सत्ता र संवैधानिक निकायमा अासीन गराउने षड्यन्त्रको पुलिन्दा भएकाले ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा सरकारको यस राष्ट्रघाती कदमको घोर भर्त्सना गर्दछ । यो अध्यादेश वर्षौंदेखि  तराईका जमिनदारको घरमा अाश्रित गरिब मूलवासीलाई नागरिकता दिने उद्देश्यले नभएर इन्डियाबाट प्रायोजित रूपमा बुहारी बनेर नेपाल अाउने अाप्रवासी युवतीहरूलाई सिन्दुर-पोतेसँगै हातमा तत्काल नागरिकता उपहार दिने बदनियतले जारी गरिएको हो । यसका अतिरिक्त यस अध्यादेशको सबभन्दा ठुलो बदनियत इन्डियामा गर्भवती भएका महिलालाई नेपालका अस्पतालमा ल्याएर शिशु जन्माउने अवसर प्रदान गर्ने र अस्पतालबाट जन्मदर्ताको प्रमाणपत्र लिई शिशु बालिग भएपछि त्यही  जन्मका अाधारमा नेपाली नागरिकता प्राप्त गर्ने हतियार बनाउनु हो । 

अतः यो अध्यादेशबाट सबभन्दा ठूलो मर्का तराई मूलका अादिवासी-मूलवासीमा पर्ने देखिएको हुँदा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा यसबाट पर्ने असरको निदान खोज्न तराईमूलका युवाहरूलाई विशेष अाग्रह गर्दछ । तराईका मूलवासी युवा र त्यहाँका अादिवासी जनताले राज्यका तर्फबाट पाउने सुविधा टाठाबाठा इन्डियाली अाप्रवासीले पाउने र राजनीतिक पहुँच र प्रतिनिधित्व पनि उनीहरूकै बढ्ता हुने निश्चित भैसकेको छ । यसको सत्यता महन्थ ठाकुर र राजेन्द्र महतोका तीनपुस्ते हेरे प्रमाणित हुन्छ । तसर्थ  नेपाली नागरिकताको प्रमाणपत्र नेपालीले मात्र पाउनुपर्छ भन्ने कुरालाई तराईको अन्तरात्माको अावाज बनाइयोस् भनी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा तराईका युवासँग जोडबलका साथ  अाग्रह गर्दछ ।

फणीन्द्र नेपाल
अध्यक्ष
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा
२०७८-०२-११