बेइजिङमा नेपाली मण्डपको आकर्षण
चीनको राजधानी बेइजिङमा प्रारम्भ भएको ‘एक्स्पो–२०१९’ मा प्रदर्शित नेपाली मण्डपमा दर्शकको आकर्षण बढेको छ । एक्स्पो शुरु भएको १५ दिनमै एक लाख दर्शकले अवलोकन गरेको आयोजक ‘इम्प्लिमेन्टिङ एक्स्पर्ट ग्रुप’ का राष्ट्रिय संयोजक विनायक शाहले जानकारी दिनुभयो ।
चीन भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख १५ गते उक्त मण्डप उद्घाटन गर्नुभएको थियो । ‘हरित जीवन ः उत्तम जीवन’ भन्ने नाराकासाथ आयोजित सो एक्स्पोमा ‘लुम्बिनी शान्ति बगैँचा’ निर्माण गरी बुद्ध जन्मिएको देश नेपालको प्राकृतिक वातावरण र मानव जीवनका सम्बन्धलाई उजागर गरिएको होटल एशोसिएशन आफ नेपाल(हान)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । पन्ध्र फिट अग्लो ध्यानमग्न बुद्धको विशाल मूर्तिलाई बीचमा पारेर नेपालको कृषि, वन र वनस्पति जडीबुटी लगायतको अनुसन्धान एवं आर्थिक तथा व्यापारिक विकासका ठूला योजना भित्र्याउन चिनियाँ तथा अन्तर्राष्ट्रिय प्रविधि र लगानी आकर्षण गर्न उक्त मण्डपमा प्रयास गरिएको संयोजक शाहले बताउनुभयो । नेपाल भ्रमणमा चिनियाँको बढ्दो मोहलाई लक्ष्य गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गरिएको आयोजक संस्थाका अध्यक्ष अमृत शाक्यले बताउनुभयो ।
आश्विन २ गते उक्त एक्स्पोमा आयोजना हुने नेपाल दिवसमा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल र समकक्षी चिनियाँ टोलीबीच औपचारिक कार्यक्रम गरिने भएको छ । सोही अवसरमा नेपाली कलाकौशल र संस्कृति झल्कने नाचगान, साङ्गीतिक कार्यक्रम, नेपाली रैथाने परिकारसहितको खाद्य महोत्सव आयोजना हुने संयोजक शाहको भनाइ थियो । एकसय दश राष्ट्र तथा २४ अन्तर्राष्ट्रिय संस्था सहभागी सो एक्स्पो ५०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । आगामी कात्तिकसम्म चल्ने एक्स्पो १६ करोडले प्रत्यक्ष तथा एक अर्बभन्दा बढीले विभिन्न सञ्चारमाध्यमबाट अवलोकन गर्ने बताइएको छ ।
-रासस