सञ्चालन नहुँदै रेल्वेमा चोरी
धनुषा — जनकपुर-जयनगर रेल्वेको जनकपुरस्थित रेल्वे स्टेशनमा बनाइएको ट्रष्टको नटबोल्ट चोरी भएको छ । रेल्वे स्टेशनमा बनाइएको खानेपानीको धारा समेत चोरी भएको छ । स्टेशनमा पान खाएर थुक्दा स्टेशन दुर्गन्धित बनेको छ । रेल्वे सञ्चालन नहुँदै रेल्वे ट्र्याक र स्लिपर जोडने क्लिप चोरी हुन थालेको छ ।
रेल्वे निर्माण नसक्दै कडा निगरानीका बाबजुद रेल्वे सामाग्री चोरी भएको रेल्वे साइट इन्जिनियर विनोद ओझाले बताए। कुर्था-जनकपुर-जयनगर ३५ किलोमिटर रेल्वे खण्डमा ५ स्टेशन र ३ हल्ट निर्माण भएपनि काम पुरा नभएको ओझाले बताए। निर्माण पुरा नहुँदै चोरीको घटना बढेको ओझाले बताए।
५ स्टेशन र ३ हल्ट गरी ८ स्थानमा भवन निर्माण भएपनि घेरा र गेट बन्न बाँकी छ,’ उनले भने, ‘निर्माण सम्पन्न नभएको करण रेल्वेमा निगरानी निमार्ण कम्पनीकै जिम्मा हो। तर, हामीले सहकार्य गरेका छौं। तर, कडा निगरानीकाबीच पनि चोरीका घटना बढेको छ।’ जनकपुरदेखि इनर्वासम्म रेल्वे लिक र स्लिपर जोडने क्लिप चोरीका घटना बढेको ओझाले बताए।
रेल्वेमा चोरीका घटना बढेपछि नेपाल प्रहरीसँगै रेल्वेका कर्मचारीलाई निगरानी गर्न लगाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलले बताए। नागरिकमा चेतना अभावले रेल्वमा चोरी भएको उनले बताए। रेल्वेमा लगाइएको विजुली बत्ती, धारा, महत्वपूर्ण नटबोल्ट चोरी गर्न बाहिरबाट कोही आउँदैन, कँडेलले भने, ‘विकास विरोधी र गैरजिम्मेवार नागरिकबाट सार्वजनिक सम्पत्ति मास्ने काम भएको छ। चोरीको घटना हुन नदिन निगरानी बढाइएको छ।’
ब्रोडगेज रेल्वे स्टेशन सुविधा सम्पन्न बनाइएको भएपनि रेल्वे स्टेशन हेर्न आउनेहरुले नै चोरी गर्न थालेको रेल्वेका इन्जिनियर देवकुमार तामाङले बताए।
चार वर्षअघि निर्माण सुरु भएको रेल्वे निर्माण कार्य सम्पन्न हुन अझै एक महिना लाग्ने प्राविधिक बताउँछन्। रेल्वेमा विद्युत, सिग्नल र सञ्चारको काम द्रुतगतिमा भइरहेको छ। मधेस आन्दोलन र वर्षाले गर्दा निर्धारित समयमा निर्माण सम्पन्न नभएको कुर्था-जयकनगर रेल्वेको ०७४ मंसिरमा विवाह पञ्चमीको अवसरमा उद्घाटन हुने मिति सार्वजनिक भएको थियो। तर, रेलको अभावसँगै निर्माण सम्पन्न नहुँदा रेल सञ्चालन हुन सकेको छैन। नेपाल र भारत सरकार रेल्वे खरिद प्रक्रिया अगाडि बढाएको छ। कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरिसकिएको विभागले जनाएको छ।
यहि वर्ष कुर्तासम्म रेल सञ्चालन हुने तयारी भइरहेको रेल विभागले जनाएको छ। अर्को वर्ष कुर्ताबाट १७ किमि दुरीमा रहेको बिजलपुरासम्म रेल चल्ने विभागले जनाएको छ। विजलपुरामा जग्गा प्राप्तिको काम सकिसकेको छ।
निर्माणको काम सुरु गर्ने तयारी भएको छ। विजलपुराबाट बर्दिबाससम्म १७ किमि रहेको छ। जहाँ जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ। जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे विस्तार काम धमाधम भइरहेको छ।