ऐसेलुखर्कका स्थानीयबासीले गरे लाखौं मुल्य पर्ने जग्गा निःशुल्क दान

खोटाङ, १६ वैशाख ः जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयबासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि लाखौँ मुल्य पर्ने जग्गा निःशुल्क उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयबासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।
यस्तै सिमित जग्गामा निर्माण गरिएको भवनमा सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रका लागि अन्य आवश्यक संरचना निर्माण गर्न स्थानीयबासी रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । प्राप्त जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम थालिने जनाइएको छ ।
हालसम्म जथाभावी पार्किङ गरिँदै आइएको यातायातका साधनलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको बसपार्कका लागि स्थानीय सन्तवीर तामाङले साबिकको ऐंसेलुखर्क–५ मा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । बसपार्कका लागि थप जग्गा आवश्यक परे स्थानीयले निःशुल्क रूपमै उपलब्ध गराउने बताएका छन् ।
खेलमैदान निर्माणका लागि ११ जना स्थानीयबासीले साँढे २९ रोपनी जग्गा उपलब्ध गराउनुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनुभयो । गाउँपालिकास्तरीय खेलमैदान निर्माण गर्नका लागि धु्रव राजभण्डारी, गोपालकृष्ण राजभण्डारी, रत्नकुमारी राजभण्डारी, पदमकुमारी राजभण्डारी, विष्णुमाया राजभण्डारी, अञ्जना राजभण्डारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो ।
खेलमैदानका लागि भीमबहादुर राजभण्डारी, कमलकुमारी राजभण्डारी, खड्गबहादुर राजभण्डारी, भाइकाजी राजभण्डारी र भूपेन्द्र राजभण्डारीले पनि खेलमैदानका लागि निःशुल्क जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ । खेलमैदानका लागि स्थानीय छ जना जग्गा दाताले गाउँपालिकाको स्वामित्वमा रहनेगरी जग्गा पास गरिदिइसकेका गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो ।
बाँकी पाँचजना बाहिर भएकाले कानूनी प्रक्रिया पूरा गर्न बाँकी भए पनि उहाँहरूले जग्गा दिइसक्नुभएको जनाइएको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम शुरु गरिने गाउँपालिका प्रमुख निरौलाले जानकारी दिनुभयो ।
ऐसेलुखर्कमा गाउँपालिकाको केन्द्र स्थापना भएपछि आवश्यक भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको पहलमा निःशुल्क जग्गा खोजी भएको थियो । आफ्नो ठाउँमा कार्यालय तथा आवश्यक भौतिक संरचना निर्माण हुने भएपछि स्थानीयबासीले लाखौँ मुल्यको जग्गा निःशुल्क उपलब्ध गराएका हुन् ।