Logo

आखिर भएको के हो त? के हो विजय लामा काण्ड? यस्तो रहेछ यथार्थ


सोमबार खबर हेर्नेहरु अलमलमा पर्ने गरी समाचार आए। एकछिनसम्म नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन, कलाकार, टिभी कार्यक्रम सञ्चालकसमेत रहेका सेलिब्रिटी विजय लामालाई निलम्बन गरेको खबर आयो। फेरि एकैछिनमा अर्को खबर आयो- निलम्बन फुकुवा भयो रे। यसैलाई केही हावा र सेयरसिकर फेसबुके अनलाइनहरुले जनता समर्थनमा उत्रेपछि निलम्बनमा परेका विजयलाई फेरि नियुक्त गरियो, सेयर गर्नुस् भन्दै शीर्षक राखे। मान्छेहरुले कुरै नबुझी पढ्नै नपढी भटाभट सेयर गर्न थाले। आखिर भएको के हो त? के हो विजय लामा काण्ड? यस्तो रहेछ यथार्थ।

खासमा सोमबार अर्थात् वैशाख १६ गते नेपाल वायुसेवा निगमले विजय लामालाई प्रवक्ताको पदबाट तत्काल लागू हुने गरी हटाइएको पत्र थमाएको थियो।

कार्यकारी अध्यक्ष मदन खरेलको हस्ताक्षर रहेको यो पत्रमा ‘तपाईँलाई तत्कालैदेखि लागू हुने गरी तपाईँले हाल सम्हाली आइरहनुभएको प्रवक्ताबाट हटाइएको छ’ लेखिएको छ।

त्यसो भए यो निलम्बनको कुरा कहाँ आयो त?

पत्रमा फेरि ध्यान दिनुस्। त्यसमा नेपाल नागरिक उड्डयन प्राधिकरणको पत्रको कुरा उल्लेख छ। नागरिक उड्डयन प्राधिकरण भनेको उड्डयन क्षेत्रको नियामक निकाय हो। भन्नुको मतलब प्लेन उडाउने पाइलटदेखि एयरलाइन्स र प्लेनसम्मको लाइसेन्स दिने काम यसैको हो। देशभरका एयरपोर्टहरु यसैले हेर्छ। यो क्षेत्रका नियमहरु पनि प्राधिकरणले नै बनाउने हो।

विजयले निगमका प्रवक्ता तथा पाइलट दुवै भई गर्दै आएको दोहोरो भूमिकाका कारण हवाई सुरक्षामा असर परेको लेखिएको भनिएको रहेछ प्राधिकरणको पत्रमा।

त्यसो भए प्राधिकरण कै पत्र हेरौँ न त। के लेखिएको रहेछ त्यसमा?

यो प्राधिकरणको दोस्रो पत्र रहेछ विजय लामालाई। पहिलो पत्रमा दोहोरो भूमिका र जिम्मेवारीका कारण सुरक्षामा परेको असरबारे स्पष्टीकरण माग गरिएको रहेछ।

१७ अप्रिलमा पठाइएको यो पत्रको विजय लामाले पठाएको जवाफ असान्दर्भिक र अतार्किक  भएको आरोप प्राधिकरणको पत्रमा छ।

नेपाल वायुसेवा निगमको प्रवक्ताको रुपमा थप सांगठनिक भूमिका र विमानको सुरक्षित सञ्चालनमा पर्ने असरलाई जस्टिफाइ गर्न नसकेको पत्रमा उल्लेख छ।

पत्रमा नेपाल वायुसेवा निगमको प्रवक्ताको रुपमा थप जिम्मेवारीले सम्भावित तनाव हुने र त्यसले उडान सुरक्षामा असर पार्ने भएकोले त्यो जिम्मेवारीबाट नहटेसम्म प्राधिकरणले दिएको पाइलट लाइसेन्सको सुविधा उपभोग नगर्नु भनिएको रहेछ।

भन्नुको मतलब प्राधिकरणले दुई वटा विकल्प दिएको रहेछ- कि प्लेन नउडाउनु, कि प्रवक्ताको जिम्मेवारी छाड्नु।

निगमले प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिदिएपछि अब उनले प्लेन उडाउन पाउँछन्। तर त्यसका लागि प्रवक्ताबाट हटाइएको पत्र प्राधिकरणमा पुग्नुपर्छ।

के थियो त प्राधिकरणलाई विजयले पठाएको पत्रमा?

नियामक निकायले विजय लामाले पठाएको स्पष्टीकरणमा नियामक निकायलाई नै चुनौति दिएको देखिन्छ। मलाई स्पष्टीकरण सोध्ने कानुनै छैन भनिएको रहेछ। Your letter is not lawful भन्दै पत्रलाई नै कानुन अनुसार नभएको भनिएको छ। पत्रको भाषामा आक्रोश देखिन्छ।

जबकि नागरिक उड्डयन नियमावली २०५८ को नियम ८४ मा नागरिक उड्डयन निरीक्षकले लाइसेन्स खारेज, निलम्बन वा स्थगित गर्न सक्ने प्रावधान उल्लेख छ।

विजय लामाले आक्रोशित हुँदै स्पष्टीकरण पत्र पठाउनु त गल्ती थियो नै, प्राधिकरणले पनि प्रक्रिया पुराएको देखिन्न। नियममा निरीक्षकको प्रतिवेदनका आधारमा प्रमाणपत्र खारेज, स्थगित वा निलम्बन गर्न सक्ने उल्लेख भए पनि स्पष्टीकरण पत्रकै आधारमा उनको प्रमाणपत्र स्थगित गरिएको छ।

खास केको निहुँ यो सब?

खासमा यो सब लफडाको पछाडि गएको चैत १९ गतेको एउटा काण्ड प्रमुख छ। त्यो दिन राति सवा ९ बजे उड्नु पर्ने निगमको प्लेनको दुबई उडान रद्द भएको थियो।

निगमको विमानले बेलुकी ७ बजेदेखि नै विमान ह्यांगरबाट ‘पार्किङ वे’मा ल्याउने अनुमति माग्यो तर एयर ट्राफिक कन्ट्रोलले ८ः३५ बजे मात्र अनुमति दियो। ढिलो गरी ‘पार्किङ वे’मा ल्याउने अनुमति दिनु त कारण थियो नै, अर्को लफडा चाहिँ यात्रुहरु मिसप्लेस हुनुले गर्‍यो।

निगमको दोहा जानु पर्ने यात्रु र दुबई जानु पर्ने यात्रु कन्फ्युज भएर अर्कै प्लेनमा बस्न पुगे। यात्रुलाई अर्को प्लेनमा गएर तपाईँहरुको प्लेन यता हो भन्न नै टाइम लाग्यो। यात्रुहरु ९ः३५ बजे मात्र विमानमा बसे । ९ः३७ मा विमानमा इन्धन राखियो । ९ः४५ मा इञ्जिनियरिङ टिमले उडानका लागि अनुमति दियो ।

९ः४७ मा विमानका सबै ढोका बन्द गरिए । र, पाइलटले एटीसीसँग उडान अनुमति मागे । तर, एटीसीले पर्खन भन्यो। ड्रागन एयर ९ः५७ मा उड्यो। रनवे मर्मतका कारण राति १० बजेदेखि विमानस्थल बन्द हुने नियम देखाउँदै कन्ट्रोल टावरले उडान अनुमति दिन नसकिने भन्यो।

चालक दलका सदस्य सहित २ सय ७४ यात्रु अलपत्र परे। राष्ट्रिय ध्वजाबाहकलाई उड्न नदिने, निजीलाई चाहिँ उड्न दिने? भन्दै प्रवक्ता विजय लामा खरो रुपमा मिडियामा उत्रिए। हुन पनि विमानस्थलले २०७५ चैत महिनामा फ्लाई दुबई, सिल्क एयरलाई नोटाम उल्लंघन गर्दै उड्न अनुमति दिएको देखियो। अझ वैशाख १४ गते शनिबार त ड्रागन एयरको विमान विमानस्थल बन्द हुने समय भएको २४ मिनेटपछि उड्यो। 

अहिले प्राधिकरणले लफडा बनाइरहेको एउटा विषय विजय लामाको अन्तर्वार्ता पनि हो। युट्युब च्यानलमा दिइएको अन्तर्वार्तामा उनले आफू तनावमा रहेको बताएछन्। त्यही शब्दलाई टपक्क टिपेर तनावमा हुनेले प्लेन सुरक्षित कसरी उडाउँछन् भनेर प्राधिकरणले प्रतिशोधको इस्यु बनाएको हो।

चार वटा युट्युब च्यानलले विजय लामाको अन्तर्वार्ता राखेका छन्।

त्यसमध्ये सबैभन्दा धेरै हेरिएको अन्तर्वार्ता यो हो

यसमा आरामै हुनुहुन्छ भनेर सोध्दा विजय लामाले थकित छु भनेका छन्। थकित हुनुहुन्छ? भनेर सोध्दा उनले एकदमै भनेका छन्।

यसैलाई इस्यु बनाएको हो प्राधिकरणले। त्यसमाथि विजय लामाको नियामक निकायलाई नै चुनौति दिने जवाफ। यसले झन् स्थिति भड्कायो।

निगमको उडान रद्द भएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा छानबिन समिति गठन गरियो। समितिले नेपाल नागरिक उड्डयन प्राधिकरणका ४ र नेपाल वायुसेवा निगमका २ कर्मचारीलाई विभागीय कारबाहीको सिफारिस गरेको थियो।

त्यही कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय प्रमुख रामकुमार क्षेत्री र निजी एयरलाइन्ससँग सेटिङमा चल्ने प्राधिकरणका पदाधिकारीहरु विजय लामासँग रिसाए। अनि लास्टमा प्रवक्ताको पद हटाउनै लगाए।

खासमा कुनै एउटा एयरलाइन्सको प्रवक्ता पदमा को रहने वा नरहने भन्ने विषय प्राधिकरणले हेर्ने हैन। तर उडान सुरक्षाको कारण देखाउँदै युट्युब अन्तर्वार्ताको भरमा प्रवक्ता भएर थकित हुनुपर्ने लजिक ल्याइयो।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्