खोटाङमा भ्यु टावरसहितको कृतिम ताल निर्माण शुरु
खोटाङको रमणीय स्थल बगरे भञ्ज्याङमा भ्यु टावर सहितको कृतिम ताल निर्माण शुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, १० पाथेका र ११ खार्मीको सिमानामा पर्ने बगरेभञ्ज्याङमा भ्युटार सहितको जलपार्क निर्माण शुरु गरिएको हो ।
नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा पेन (कलम) आकारको भ्युटावर सहित १ सय ८० मिटर लम्बाई र १ सय ५० मिटर चौडाई हुने ताल निर्माण शुरु गरिएको हो । प्राकृतिक रुपमा नै पोखरीको अवस्थिती रहेको स्थानमा बर्षातको पानी जम्मा गरेर ताल निर्माण गरिने जनाईएको छ । नगरपालिकाको दुई करोड ५७ लाखको लागतमा तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी जलपार्क तथा टावर निर्माणको काम शुरु गरिएको हो । नगरपालिकाको क्रमागत योजना अन्तरगत यस आर्थिक वर्षमा ५४ लाख बजेटबाट काम शुरु गरिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष भोगेन राईले जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, प्रदेशसभा सदस्य रामकुमार राई ‘पासाङ’, पूर्वसभाषद् दुर्गाजयन्ती राई, नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको थियो । दिक्तेल–पाथेका सडक खण्डमा पर्ने बगरेभञ्ज्याङमा निर्माणाधीन पोखरीले जिल्लाको पर्यटन प्रवद्र्दनमा सघाउ पुग्ने बताईएको छ । चारैतिर घना जङ्गल रहेको उक्त ठाउँमा निर्माणाधीन तालमा डुङ्गा सयर गर्न मिल्नेगरी संरचना बनाइने नगरप्रमुख दिपनारायाण रिजालले बताउनुभयो । मध्यपहाडी लोकमार्गमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल भुलभुले दूधकुण्डको शिरमा पर्ने बगरेभञ्ज्याङसम्म पुग्न दूधकुण्डबाट पदमार्ग निर्माण गरिने उपभोक्ता समितिले जनाएको छ । सदरमुकाम दिक्तेलबाट करीब नौं किलोमिटर टाढा रहेको बगरेभञ्ज्याङलाई वनभोजस्थलका रुपमा विकास गर्ने योजना बनाइएको छ ।
समुन्द्री सतहदेखि करीब एक हजार ८ सय मिटर उचाईमा रहेको बगरेभञ्ज्याङ आसपास लालीगुँरास, चाँप, सुनाखरी लगायतका फूल पाइन्छ । मृग, हरिन, घोरल, खरायो लगायत जङ्गली जनावर भेटिने बगरेभञ्ज्याङ आसपास पर्ने डाँडाखर्क खिसापत्रे सामुदायिक वनमा कालिज, प्युरा, मलेवा, ढुकुर जस्ता चराचुङ्गी देख्न पाइन्छ ।निर्माणाधीन पोखरीबाट पर्यटकीयस्थल रुपाकोट, मेरुङ, रमितेडाँडा लगायतका स्थान जाने पदमार्ग निर्माण गरिने योजना बनाइएको छ ।