प्रधानमन्त्री ओली भन्छन्, ‘सीके राउतसँग असाधारण निर्णय क्षमता’

नेपाल सरकार र सीके राउतको नेतृत्वमा रहेको स्वतन्त्र मधेश गठबन्धनले एउटा राजनीतिक सहमति गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राउतको प्रशंसा गरेका छन्।
एघारबुँदे सहमतिमा औपचारिक रूपमा हस्ताक्षर भएपछि बोल्दै प्रधानमन्त्री ओलीले राउतसँग असाधारण निर्णय क्षमता भएको टिप्पणी गरे।
उनले त्यस्तो क्षमता पहिला तत्कालीन माओवादी पार्टीका नेता प्रचण्डसँग मात्र भएको देखेको बताए।
ओलीले भने, “उहाँले समग्र राष्ट्रिय एकता र समृद्धिमा प्रवेश गर्नुभएको छ। यो साधारण निर्णय हैन।”
शुक्रवार भएको सहमतिअनुसार पृथक्तावादी अभियान चलाउँदै आएको सो समूहले नेपालको अखण्डतालाई स्वीकार्ने र संविधानअनुसार लोकतान्त्रिक विधि पालना गर्ने भएको छ।
सरकारले पनि सो गठबन्धनका नेता तथा कार्यकर्ताविरुद्ध लागेका मुद्दा फिर्ता गर्ने भएको छ। थुनामा भएका सो समूहका कार्यकर्ता र समर्थकलाई नि:शर्त रिहा गरिने पनि सहमतिमा उल्लेख छ।
प्रधानमन्त्री ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल सरकारका तर्फबाट र राउतले आफ्नो गठबन्धनबाट सो राजनीतिक सहमतिमा हस्ताक्षर गरेका हुन्।
सो कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा सत्तारूढ नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड तथा सभामुख कृष्णबहादुर महराको पनि उपस्थिति थियो।
सीके राउत देखाएर मधेशमा स्वार्थका रोटी सेक्ने धेरै थिए, अब तिनका रोटी सेलाउनेछन्

सहमतिमा हस्ताक्षरमा गरेपछि राउतले नेपालका जनताका लागि यो खुसीको कुरा भएको र यो ऐेतिसाहिक पल भएको टिप्पणी गरे।
जनमतसङ्ग्रह आफ्नो माग भएको एवम् सहमतिअनुसार आफूले त्यसका लागि राजनीतिक स्थान पाएको भन्दै उनले यसबाट सबैको जित भएको बताए।
प्रधानमन्त्री ओलीले पहल गरेर आफ्नो अभियानलाई शान्तिपूर्ण रूपमा सुरक्षित अवतरण गराएको भन्दै राउतले उनलाई धन्यवाद दिएका थिए।
राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डतामा जोड दिँदै उनले भने, “देशको एक इन्च जमिन पनि कसैलाई टुक्र्याउन मिल्दैन।”
राउतपछि बोलेका ओलीले नेपालमा भएका विभिन्न आन्दोलनहरू र जनताको अभिमतको चर्चा गर्दै देशका लागि शान्तिपूर्ण एवम् लोकतान्त्रिक विधि महत्त्वपूर्ण रहेको बताए।


उनले भने, “सीके राउत देखाएर मधेशमा स्वार्थका रोटी सेक्ने धेरै थिए, अब तिनका रोटी सेलाउनेछन्।”
कार्यक्रममा बोल्दै ओलीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको राष्ट्रिय जनता पार्टीको नाम उल्लेख नगरीकनै कटाक्ष गरे।
नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको दल नेकपालाई ‘लुटेरा’को सङ्ज्ञा दिँदै ओलीले सो दललाई हिंसाको बाटो त्याग्न आग्रह गरे।
सहमतिपत्रमा हस्ताक्षरपश्चात् राउतले सामाजिक सञ्जाल फेसबुकमा सरकार जनमत सङ्ग्रह गराउन तयार भएको लेखेका छन्।

सत्तारूढ नेकपाभित्रै उक्त सहमतिलाई लिएर असन्तुष्टि रहेको देखिएको छ।
पूर्वगृहमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य भीम रावलले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो?”


‘नयाँ बाटो फलामको चिउरा’
चन्द्रकिशोर, विश्लेषक
‘स्वतन्त्र मधेश गठबन्धन’मार्फत् मधेशमा पृथक्तावादी गतिविधि सञ्चालन गर्दै आएका सीके राउत मूलधारमा आउने सम्भावना निकै पहिलादेखि देखिएको थियो। तर उनी कसरी र कहिले आउँछन् भन्ने स्पष्ट थिएन।
उग्र नाराको राजनीतिलाई नेपालको भौगोलिक अवस्थतिले पनि छुट दिँदैन।
मधेशको राजनीतिमा मध्यमार्गी शक्तिका रूपमा चिनिएका फोरम र राजपाजस्ता दलले जनअपेक्षालाई पूरा गर्न नसकेको भन्दै गुनासो सुनिने गरेको छ। त्यसैले ताजा वैकल्पिक राजनीतिको आवश्यकता भएको मत कसैकसैको छ।
अहिले मधेशमा देखिएको प्रतिक्रियाले राउतलाई नयाँ गोरेटोमा हिँड्नु फलामको च्युरा चपाउनुसरह हुन्छ।
हालका लागि एउटा पृथक्तावादी शक्ति मूलबाटोमा आइदिँदा सरकारलाई सहज हुनेछ। राउतको अभियानको हाउगुजी देखाएर मोलमोलाई गर्न खोज्ने मधेशी दलहरूसँग कस्तो व्यवहार गर्न भन्ने निर्णय गर्न पनि सरकारलाई पहिला भन्दा सहज हुनेछ।
यसबाट प्रधानमन्त्री ओलीलाई राजनीतिक लाभ हुने देखिन्छ।

को हुन् सीके राउत?

सीके राउतको पूरा नाम चन्द्रकान्त राउत हो। उनी सप्तरीमा जन्मिएका हुन्।
उनले क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्।
सन् २०११ मा अमेरिकाबाट स्वदेश फर्केर उनले स्वतन्त्र मधेशको अभियान चलाएका थिए।
नेपाल फर्कनुअघि उनले अमेरिकामा कम्प्युटर वैज्ञानिकका रूपमा काम गरेका थिए। उनले आफ्नो आत्मकथा ‘डिनायल टु डिफेन्स’ र मधेशसम्बन्धी अन्य दुईवटा पुस्तक पनि प्रकाशित गरेका छन्।
स्वतन्त्र मधेश गठबन्धनका उनी केन्द्रीय संयोजक हुन्।
सहमतिमा के छ?
- सहमतिपत्रमा संविधानको पालनालाई प्राथमिकता दिँदै भनिएको छ- नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता रक्षा गर्नु सबै नेपाली कर्तव्य हो
- राजनीतिक, सामाजिक, आर्थिक लगायतका गतिविधिहरू शान्तिपूर्ण ढङ्गबाट गर्ने/गराउने
- सार्वभौम अधिकारको प्रयोग गर्दै मतभेदलाई सहिष्णु ढङ्गबाट जनमतमा आधारित लोकतान्त्रिक विधिबाट हल गरिने
- यसमै आधारित रहेर अब स्वतन्त्र मधेश गठबन्धनका नेता तथा कार्यकर्ताहरूलाई रिहा गरिने
- गठबन्धनका नेता-कार्यकर्ताद्वारा यसअघि तयार पारिएका किताब, पर्चा, पम्प्लेट,घोषणापत्र, गीत, नक्सा, नारा, झन्डा, अन्लाइन सामग्री आदिलाई भविष्यमा कारबाही विषय नबनाइने
- आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका सामग्री उत्पादन तथा वितरण नगरिने
- २०७५ भदौ १५ मा प्रहरी हिरासतमा मृत्यु भएका गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवको परिवारलाई उचित क्षतिपूर्तिका साथै परिवारका एकजनालाई रोजगारीको व्यवस्था गरिने