राजस्वका हाकिम चोरीको गाडी
काठमाडौं । राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख राजन बिसीले चोरीको गाडीमा नक्कली नम्बर प्लेट राखेर चढ्दै आएका छन् ।
राजस्व कार्यालयमा बुझाइएका चोरीका ३ वटा गाडी केही अघिसम्म एउटै नम्बर प्लेट राखेर चलाउने गरिएको थियो ।
कार्यालयको हाताभित्रै तीनवटा गाडीमा एउटै नम्बर प्लेट प्रयोग गरिएको समाचार तस्बिरसहित प्रकाशित भएपछि २ वटा गाडी सरकारीकरण गरेर काठमाडौं पठाइएको थियो ।
बाँकी रहेको सुजुकी ब्राण्डको गाडीमा बिसीले ना.२ ख ९५१० नं.को नक्कली नं.प्लेट राखेर चलाउँदै आएका हुन् । सोमबार बाराको पथलैयामा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयकी प्रमुख किरण वज्राचार्यको बिदाइ कार्यक्रममा उनी सोही गाडी चढेर पुगेका थिए ।
यातायात व्यवस्था कार्यालय वीरगन्जको रेकर्डअनुसार बिसीले प्रयोग गरेको ना.२ च ९५१० नम्बरमा ‘महिन्द्रा कम्पनीको डबल क्याप पिकअप’ गाडी दर्ता रहेको छ । उनले अहिले चढेको सो गाडी १३ भदौमा पथलैया चेकपोस्टबाट बरामद भएको थियो ।
चितवन प्रहरीमा कार्यरत प्रहरी नायब निरीक्षक बुद्धि चौधरीले चलाएर वीरगन्जबाट चितवनतर्फ लगिरहेका वेला राजस्व अनुसन्धान कार्यालय पथलैयाको चेकपोष्टले पक्राउ गरी जाँच गर्दा चोरीको गाडी भएको प्रमाणित भएको थियो ।
प्रहरीले पक्राउ गर्दा सो गाडीमा युपी १३ बिबी ७२६० नं.को प्लेट लगाइएको थियो । नियमानुसार त्यस्तो गाडी लिलाम गर्नुपर्नेमा कार्यालय प्रमुख बिसीले नक्कली नं.प्लेट लगाएर आफैँ चढ्दै आएका हुन् ।