Logo

राई यायोक्खा एनजिओको १० औं महाधिवेशन र किरातीहरुको टाउकोमा झुन्डिएको राईको सिङको भारी


 

-निनाम कुलुङ ‘मंगले’

काठमाण्डौ- केही समयअघि डिबी राई ! सरोज नामक राईको फेसबुक वालमा यही फागुन १८, १९ र २० गते सुनसरी जिल्लाको धरानमा कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ’को १० औं महाधिवेशन हुँदैछ अरे ! भन्ने सूचना पढ्न पाइएको थियो । सोही आशयको समाचार केही अनलाइनहरुले पनि केही दिनअघि प्रकाशन/प्रसारण गरेको देखिन्छ । त्यस्तै मुन्धुम स्टार अनलनइनमा पनि यो समाचार छापियो । त्यसैले मुन्धुम स्टार अनलाइनमा केही लामो नै भए पनि यो लेख पठाएको छु । खासमा यो कसैले कसैलाई लगाएको आरोप प्रत्यारोप भन्दा पनि राई के हो त ? भन्नेबारेमा र्ससाधारण नागरिकदेखि लिएर मै हुँ ! भन्ने घागडान बिद्धानहरुमाझ अझ राई ! बिद्धानहरुबीच साँच्चै गरमा–गरम बहस र छलफल होस् । र, निचोडमा पुगौं ! भन्ने हिसावले विगत लामो समयदेखि यो पंक्तिकारले विभिन्न नाममा राई जात वा जाति होइन भनी लेख्दै आएको पनि हो ।

हुन त ती डिबी राई ! सरोज नामक राई कुलुङ समुदायकै ‘कुलुङ’हरु मध्ये एक नै हुन् । डिबी राई सरोज बाहेक ३/४ जना अरु ‘कुलुङ’हरु छन् । जस्तै मकरध्वज, दोर्पध्वज, राजेश आदि । हुन त विगत सम्झिँदा ती डिबी राई सरोज नामक राई कुलुङ संघको कार्यलय डिल्लीजार हुँदा कहिलेकाही आउँथे । तर, राई यायोक्खा नामक एनजिओमा जस्तो कुलुङ संघमा चुरीफुरी र दानापानी (पैसा) नभएको बुझेपछि कुलुङ संघमा आउन छाडे, यायोक्खामा गए । त्यहाँ उनले राई यायोक्खाको दानापानी (पैसा) मा काठमाण्डौबाट प्रसारित हुने एक एफएमबाट कथित् राई जातिको नाममा कार्यक्रम चलाउन थाले । सो क्रममा उनले कथित् राई जातिको भेषभुषा, संस्कार, संस्कृति, चाडपर्व भन्दै बान्तावा र चाम्लिङ जातिको भेषभुषा, संस्कार, संस्कृति, चाडपर्व आदिको प्रचारप्रसार गरे ।

अझ अचम्म त ती डिबी राई सरोज भन्नेले विसं २०६९ मा पहिलो संविधानसभा विघटन भएपछि अब आदिवासी जनजातिहरुले नै आफनो नेतृत्वमा नयाँ राजनैतिक दल किन गठन नगर्ने ? भनी चलेको बहस, छलफलको क्रम चलेको थियो सोही क्रममा भाग लिने क्रममा धुम्रबराहस्थित एसआर क्याटरिङमा एक कार्यक्रम भएको थियो । स्मरण रहोस्, सो छलफल कार्यक्रमको मुख्य प्रायोजक/आयोजक आदिवासी जनजातिहरुको पक्षमा रहेको भनिएको ‘लाहुर्निप’ले गरेको थियो । जे होस्, सो बहस, छलफल कार्यक्रममा बोल्ने क्रममा डिबी राई सरोजले नेपालमा ३० प्रतिशत आदिवासी जनजाति रहेको भनी बोलेका थिए । सो कार्यक्रम रेकर्ड पनि गरिएकोले अझै कतै सुरक्षित होला । उनले बोली सकेपछि पोडियमबाट झर्दै गर्दा, मैले व्यंग्यात्मक ढंगले ‘तपाईको बृहत ज्ञानको लागि बधाई छ है राई सर ! भनँे । उनले किन र सर ? भनी सोधे । मैले नेपाल आदिवासी जनजाति ३० प्रतिशत छौं होइन त ? भने । त्यसपछि उनी हलमा बस्दै नबसी ए हो र ? ए …. भन्दै हिँडे । ’

“अब आफ्नै (राईको !) मौलिक भाषामा आफ्नो संस्थाको नाम के राख्ने ? किनभने, यो पंक्तिकारलाई थाहा भएअनुसार यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । र, यायोक्खा भनेको वा भनौं यायोक्खाको शाब्दिक अर्थ के हो ? यो पंक्तिकारलाई थाहा भएन । त्यसैले सबैभन्दा पहिले त नामको लागि नै राई सर राईनी म्याडमहरुले छलफल र बहस गरेर, निचोड निकालेर नाम टुंगो लगाउनु पर्ने हुन्छ ।”

जे भए तापनि कथित् राई जातिका मान्छेहरुले खोलेको एनजिओको मात्रै नभएर प्रायः सबै आइएनजिओ, एनजिओ, संघ–संगठन, क्लब आदिको नियमित कार्यभित्रै पर्छ । त्यो ठूलो कुरो भएन । तर, अब कथित् राई जातिको नाममा खुलेको र, विसं २०४७–०४८ देखि कथित् राई जातिको नाममा कुलुङ लगायत २२ भन्दा बढी किराती जातिहरुलाई दलन–मलन गर्दै आएको राई यायोक्खाले १० औं महाधिवेशनको सुरुमै (ज्ञात–अज्ञात सहिदहरुलाई सम्मान दिइसकेपछि) सबैभन्दा पहिले क्षमा याचना गर्नुपर्ने देखिन्छ । त्यस्तै अब आफ्नै (राईको !) मौलिक भाषामा आफ्नो संस्थाको नाम के राख्ने ? किनभने, यो पंक्तिकारलाई थाहा भएअनुसार यायोक्खा भनेको बान्तावा जातिको भाषा हो । र, यायोक्खा भनेको वा भनौं यायोक्खाको शाब्दिक अर्थ के हो ? यो पंक्तिकारलाई थाहा भएन । त्यसैले सबैभन्दा पहिले त नामको लागि नै राई सर राईनी म्याडमहरुले छलफल र बहस गरेर, निचोड निकालेर नाम टुंगो लगाउनु पर्ने हुन्छ । ज्ञातव्य छ, यो दुनियाँमा नाम बिनाको त कोही पनि हुँदैन, केही पनि हुँदैन ! हुन त सुनिएर अनुसार राई यायोक्खा फलोस् फुलोस् भनेर शुभेक्षा राख्ने कयौं राईहरु मध्ये २ दर्जनभन्दा बढी राई सर राईनी म्याडमहरुले त विभिन्न विषयमा डाक्टरी नै पास गर्नु भएको छ । त्यसमध्ये कति त भाषा विज्ञानमै डाक्टरी गरेका नामुद डाक्टरहरु पनि छन् । जस्तै डाक्टर नोवेलकिशोर राई !, डाक्टर तारामणि राई !, डाक्टर … राई ! डाक्टर … राई ! डाक्टर … ! डाक्टर … राई ! … कति हो कति ???
तर, खासमा यी डाक्टरहरु मध्ये कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा कथित् राईको भाषा विसं २०५८ को भन्दा आधा भन्दा पनि बढी घटेपछि (स्मरण रहोस्, विसं २०५८ को राष्ट्रिय जनगणनामा ३ लाख ७१ हजार जानचुन राई भाषा उल्लेख भएको थियो भने विसं २०६८ को राष्ट्रिय जनगणनामा १ लाख ५९ हजार चानचुन मात्रै राई भाषा तथ्यांक उल्लेख भएको छ) ३ दिन ३ रात निन्द्रा नलाग्न्े राई डाक्टरहरु छन् । कोही विसं २०६८ को राष्ट्रिय जनगणनामा भाषिक संख्याको रुपमा मात्रै उल्लेख भएको दुमी, तिलुङ, कोयु आदि भाषीहरुको भाषिक संख्यालाई नै उनीहरुको जनसंख्या हो भने झै गरी दिउँसै रात पार्दै विभिन्न लेख, रचना वा भनौ कथित् अध्ययन–अनुसन्धानमा उल्लेख गर्ने डाक्टर राईहरु छन् । त्यसैले, यी डाक्टर राईहरुलाई अब हुँदै नभएको राई ! भजाएर खाने दिन गएछ !! भन्ने चेत खुल्दै गएको देखिन्छ । नभए त किन ३ दिन ३ रात निन्द्रा नलाग्ने रोगले भेट्थ्यो र ? जबकि विसं २०६८ मा दुमी, कोयु, चौरासे–ओम्बुले–वाम्बुले, तिलुङ आदिको जातीय जनसंख्याको तथ्यांक नै आएको छैन । सायद त्यसैले पनि होला, यी डाक्टर राईहरु मध्ये केही बढी नै चलाख डाक्टर राईहरुले नभएको राई छ भनेर हिँड्नु भन्दा वास्तविक तस्बीरमा भएको तर, विसं २०६८ को जनगणनामा जातीय जनसंख्यामा उल्लेख नभएको भए पनि दुमी, कोयु आदिलाई देखाएर यसो आफ्नो सुरक्षितसँग हिँड्ने बाटो बनाउँदै गरेको ! हुन पनि बरु कुलुङ लगायत अन्य १२ वटा किराती जातिहरुको भने विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातीय जनसंख्या उल्लेख भएको छ । तै पनि कोही … गर्ने डाक्टर राईहरु, कोही … गर्ने डाक्टर राई/राईनीहरुको कमी छैन, यहाँ । माथि उल्लेख भएको जाति र भाषाको सम्बन्धमा लेखिएको प्रसंग विसं २०६८ को राष्ट्रिय जनणनामा आधारित छ । तर, पनि जनसंख्या र भाषाको सम्बन्धमा यो पंक्तिकारलाई नै विश्वास गर्नु पर्छ भन्ने छैन । त्यसैले यस विषयमा चासो राख्ने महानुभावहरुले केन्द्रीय तथ्यांक विभागमा गएर/आएर सम्पर्क गर्दा भैहाल्छ । अथवा सूचना र सञ्चारले फड्को मारेको यो युगमा गुगलमा खोज्दा पनि भैहाल्छ ।

त्यसैले कथित् राई जातिको नाममा खुलेको राई यायोक्खावाला सर म्याडमहरुले १० औं महाधिवेशनमा अब आफ्नो एनजिओको नाम के राख्ने ? सबैभन्दा पहिले आफ्नो संस्थाको मौलिक नाम कै विषयमा बहस र छलफल गरेर पारित गर्नुपर्ने देखिन्छ । किनभने, हालसम्म त बान्तावा जातिका अगुवाहरुले थाहा पाएर वा नपाएर आफ्नो भाषालाई कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एजिआलाई प्रयोग गर्न वा भनौं नाम राख्न दिएको छ । तर, भोलि गएर अब हामी हाम्रो शब्द वा भनौं भाषा कथित् राई जाति हौं भन्ने–भनिनेहरु ! लाई प्रयोग गर्न–लेख्न दिँदैनौं भनेमा राई सर राईनी म्याडमहरुले राईको मौलिक शब्द खोजेर नाम राख्नुपर्ने दिन अवश्य नै आउँछ । सायद यो विषयमा अहिलेदेखि नै उनीहरुले आफ्नो फेसबुक वालमा पनि बहस र छलफल चलाएमा राम्रो हुन्थ्यो कि ? म आफु त कुलुङे ढाक्रे न परे ! के जान्नु र ?

“राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, राईको वंश वा भनौं पूर्खा को हुन् ? आफ्नो मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति के हो आदि पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो !”

कि भने, कथित् राई जातिको नाममा भेटेसम्म विदेशी दाता र आइएनजिओको पैसा खान र बेलायती सेना, सिंगापुर प्रहरी, ब्रुनाइको राजप्रसाद आदिमा सेवारत रहेका र भूपू भएका किरातीहरु र, वैदेशिक रोजगारीमा गएर पसिना बगाइरहेका अन्य किरातीहरुसँग कथित् राई जातिको नाममा पैसा उठाएर मोजमस्ती गर्न मात्रै हामीले राई यायोक्खा नामक एनजिओ समाज कल्याण परिषद दर्ता नम्बर २६५६ चलाएर बसेका हौं, हाम्रो जात वा जातीय स्वपहिचान त कुलुङ, बान्तावा,  नाछिरिङ, दुमी, कोयु, चौरासे–ओम्बुले–वाम्बुले, तिलुङ, याम्फु, आठपहरिया आदि नै हो भन्नु पर्यो । होइन भने, साँच्चै वैज्ञानिक अध्ययन गरेर राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, आफ्नो मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो । अझ राईको वंश को हो ? अहिलेसम्म राई भनिनेहरुले राईको भन्दै बान्तावा जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । खासगरी काठमाण्डौको टुँडीखेल लगायत अन्य सहर बजारका सार्वजनिक ठाउँहरुमा उफ्रीपाप्री गर्दा । कसैकसैले चाम्लिङ जातिको भेषभुषा र संस्कार, संस्कृति अपनाएको देखिन्छ । तर, यो उप्रीपाफ्री कहिलेसम्म हो ? भोलि बान्तावा जातिले हाम्रो भेषभुषा, संस्कार, संस्कृति तिमीहरुलाई अपनाउन दिन्नौं ! भनेमा के गर्ने ?

आखिरमा राई यायोक्खा नामक एनजिओसँग के छैन ? पढालेखामा पढालेखा छन्, बिद्धानमा बिद्धान छन्, डाक्टरमा डाक्टर छन्, पैसामा पैसा छ । … छ …. छ । त्यसैले यो कुलुङे ढाक्रेको सुझाव मानेर राईको छुट्टै मातृभाषा, ऐतिहासिक भूमि, प्रमाणित र भर पर्दो इतिहास, राईको वंश वा भनौं पूर्खा को हुन् ? आफ्नो मौलिक भेषभुषा, मौलिक संस्कार र संस्कृति के हो आदि पत्ता लगाउन वा भनौं राईको ‘युनिक’ पहिचान यो हो ! भनी भन्न सक्नु पर्यो । नभए, कथित् राई जातिको नाममा पैसा उठाएर मोजमस्ती गर्ने र, अन्तिम अवस्थासम्म पनि कुलुङ, लोहोरुङ, मेवाहाङ, चाम्लिङ, नाछिरिङ, बाहिङ, साम्पाङ, खालिङ, बान्तावा आदि जाति वा भनौं समुदायमा पनि राई जात होइन भन्ने चेतना आयो, त्यसैले अन्तिम घिटी–घिटी हुँदासम्म पनि कुलुङे ढाक्रेहरुको सेखी झार्नका लागि मात्रै भए पनि राई यायोक्खा नामक एनजिओ जीवित राखिने छ ! भन्नुको सट्टा कुलुङ, लोहोरुङ, मेवाहाङ, चाम्लिङ, नाछिरिङ, बाहिङ, साम्पाङ, खालिङ, बान्तावा, आठपहरिया आदि जाति व भनौं समुदायको टाउकोमा जबरजस्ती राईको सिङको भारी नबोकाऊँ ! राईको नाममा अब धेरै ताहुर–माहुर नगरौं । किनभने, यसरी कथित राई जातिको नाममा ताहुर–महुर गर्ने दिन अब धेरै दिन बाँकी छैन । भन्ने बुझेमा राम्रो होला । किनभने, मान्छेको चेतनास्तर पछाडि फर्केको इतिहास बिरलै मात्रै भेटिन्छ । राईकरणको मारमा परेका किरातीहरुको हकमा यो कुरो विसं २०६८ को जनगणनाले देखाइसकेको पनि छ । झन् विसं २०७८ को जनगणनामा कथित राई जातिको जनसंया कति घट्ने हो अहिले नै भन्न सकिने अवस्था छैन ।

हो, सुरुमा कुरो नबुझ्दा वा इतिहास के भन्ने थाहा नहँुदा किरातीहरुमा नामको पछाडि राई लेख्न तँछाड, मछाड भएकै हो । खासगरी भूमिसुधार ऐन र नागरिकता ऐन आएपछि हामी कुलुङहरुले मात्रै नभएर प्रायः सबै किरातीहरुले असली वा भनौं तालुकदार ‘राई !’ भन्दा ठूलो हुन नामको पछाडि राई लेख्न तँछाडमछाड गरेर लाग्यौं । यसरी जानी–नजानी हामी आपैm राईकरणको मारमा पर्याैं । अथवा भनौं त्यो बेला असली राईहरु, जसलाई त्यो बेला जिम्मावाल÷तालुकदार भनेर पनि चिनिन्थ्यिो उनीहरुभन्दा पनि ३ बित्ता अगाडि उफ्रेर नामको पछाडि “राई !” लेख्न हामफालेर लाग्यौं ! अनि अहिले आएर जातीय स्वपहिचानको संकटमा आफै फस्यौं । नत्र भने कुनै पनि एक जातिको २२, २३, २४, २५, २६, २७, २८, वटा मातृभाषा हुन्छ ? कोही पनि राई त्यस्तो छ, जसले २२, २३, २४, २५, २६, २७, २८, वटा भाषामा खररर … बोल्न सकोस् ?
त्यसैले राई यायोक्खा नामक एजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले जानीबुझी ‘नबजे बाँसुरी नरहे बाँस !’ भने झै नगर्नु नै समग्र राई सर राईनी म्याडमहरु र, राई यायोक्खा नामक एनजिओको भलाइ होला । खाली सुरुमा कुलुङे ढाक्रेहरुले जातीय स्वपहिचानको आन्दोलन गरे, राईमा विलयीकरण हुन मानेनन्, उनीहरुले गर्दा पछि आएर आठपहरिया, लोहोरुङ, मेवाहाङ, चम्लिङ, नाछिरिङ, बाहिङ, साम्पाङ, खालिङ, बान्तावा आदि जाति व भनौं समुदायमा पनि राई जात होइन भन्ने चेतना आयो, त्यसैले अन्तिम घिटी–घिटी हुँदासम्म पनि कुलुङेहरुको सेखी झार्नका लागि मात्रै भए पनि राई यायोक्खा नामक उनजिओ जीवित राखिने छ ! भन्ने हो भने ठीकै छ । किनभने, माथि नै उल्लेख भएको छ कि, विसं २०६८ को राष्ट्रिय जनगणनाको तथ्यांकमा पनि कुलुङ लगायत १२ वटा किराती जातिहरु अलग्गै जातिको रुपमा आइसकेको छ । हुन त कुलुङ लगायत अन्य किरातीहरु जो विसं २०६८ को जनगणनाअघि जानेर वा नजानेर राईमै गाभिएका थिए, उनीहरुलाई अलग्गै जातिको रुपमा आउन नदिन सकेको तिकडम र जालझेल गरेकै हो, राई यायोक्खा नामक एनजिओका हर्ताकर्ता राई र सर राईनी म्याडमहरु ।

“इतिहा साह्रै निर्मम हुन्छ । हुन पनि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खाको १० औं महाधिवेशनमा भाग लिन आएका तपाई प्रतिनिधि र पर्यपेक्षकहरुको पनि इतिहासमा मूल्यांकन हुने छ ।”

त्यसैले आगामी फागुन १८, १९ र २० गते हुने भनिएको राई यायोक्खा नामक एनजिओको १० औं महाधिवेशनको सूचना वा भनौं समाचार सुनेर/पढेर हामी कुलुङ लगायत किराती बन्धुहरु चिन्तित नबनौं, किनकि अन्ततः जीत हाम्रै हुने छ । किनभने, पैसाका लागि राई बन्ने÷भन्ने केही राईहरुले ! आखिरमा हार खाने छन् । किनकि, ऊ बेलाका महान दार्शनिक सुकरातले पनि सत्यको पक्षमा वकालत गर्दा ‘हेमलक’ नामक विष पिएर मर्न वाध्य भएका थिए । तर, त्यो बेलाको धर्मका ठेकेदार र धर्मभिरु समाजको अगाडि दार्शनिक सुकरातले विष पिएर मनृू परे तापनि आखिरमा उनी सही सावित भए/सही थिए भन्ने त आज होइन, धेरैअघि प्रमाणि भैसकेको हो । त्यस्तै हो, कुलुङले सुरु गरेको जातीय स्वपहिचानको सुरुको आन्दोनल पनि । आज हेरौं, जसरी सुकरातले विष पिएर मर्नुपरे पनि उनले भनेको (पृथ्वी गोलो छ भन्ने) कुरो पछि आएर सही सावित भयो, त्यस्तै कुलुङ समुदायले सुरु गरेको जातीय स्वपहिचानको आन्दोलन पनि स्थापित हुँदै गएको छ । हुन पनि सुरुमा कुलुङ समुदायले सुरु गरेको जाति सूचीका आन्दोलनका बारेमा चासो राख्ने जो कोहीलाई राई यायोक्खाका हर्ताकर्ताहरुको रेडीमेड जवाफ हुने गथ्र्यो, होइन नि, त्यो फलानो … व्यक्तिले यायोक्खाको सदस्य हुन नपाएर राई फुटाउन खोजेको हो … । अर्कोले सोध्यो भने ए … त्यो ढिस्कानोले डलर खानलाई मात्रै राई फुटाउन लागेको .. नत्र त राई एउटै हो नि ! भन्थे । एकपटक कस्तो भयो भने, यो पंक्तिकारले पनि राई भनेर/भनेर राई यायोक्खाको हर्ताकर्ता मध्ये (शीर्ष पाँचस्थानभित्रका व्यक्तिलाई विसं २०६२/०६३ तिर हो यहाँ म उनको नाम उल्लेख गर्दिन) एकलाई कुलुङहरुले किन राई होइन भनेको ? उनीहरुले एक जाति राईको २८ वटा भाषा हुनै सक्दैन । यदि त्यसो हो भने, एकजना राईले २८ वटा भाषामा खररर …. बोलेर देखाउन … भन्छन् त भनी नसक्दै माथि उल्लेख गरे झै होइन, नि भाइ ! त्यो ढिस्कानोले डलर खानलाई मात्रै राई फुटाउन खोजेका हुन् । राई एउटै … भनी नसक्दै यो पंक्तिकारले पनि –‘अनि जहिले पनि, जसलाई पनि फलानोले … सदस्य नपाएर, ढिस्कानोले डलर खानलाई …. भनी जवाफ दिनु हुन्छ । अनि राई यायोक्खा नामक एनजिओले विदेशी दाता र आइएनजिओहरु जस्तै सिसिओ, डिफिड, जाइका, नर्वेजियन फन्ड, जीटीजेड, आइएलओ, युके एड, युएस एड आदिबाट ल्याएर खाने पैसाचाहिँ के हो नि .. भनी नसक्दै हिँड्न हतार गरेका थिए ।
त्यस्तै आजसम्म पनि बेलायती सेना, सिंगापुर प्रहरी, ब्रुनाइको राजप्रासाद आदिमा सेवारत रहेका र भूपू भएका किरातीहरु र, वैदेशिक रोजगारीमा गएर पसिना बगाइ रहेका श्रमजीवीहरुबाट कथित् राईको नाम र अनेक बहानामा चन्दा उठाएर खाने गरेको त दिउँसोको घाम जत्तिकै छर्लङ्गै छ । त्यसो भए तापनि यही फागुन १८, १९र २० मा हुने १० औं महाधिवेशनमा वैज्ञानिक रुपमा अध्ययन गर्दा वास्तवमै राई जात वा जाति हुने आधार भेटिदैन । त्यसैले सुरुमा आधार नभएको कथित् राईको लागि कन्धनी कसेर लागिहालियो, अब त लोकलजले गर्दा पनि राई नै हुनुपर्ने वाध्यता छ भन्नु भन्दा पूरै महाधिवेशन हलले गल्ती गर्नु ठूलो कुरो होइन, गल्ती स्वीकार गर्नु ठूलो र महानता हो । त्यसैले सुरुमा जातीय स्वहिचान उठाउने कुलुङ समुदायका अगुवाहरुलाई ‘डलर खान राई फुटाउन खोजेका हुन्, यायोक्खाको के.स. नपाएर राई फुटाउन लागेको हो ।’ भनी फत्तुर लगाइयो । बरु डलरचाहिँ कथित् राई जातिको नाममा सिसिओ, डिफिड, जाइका, नर्वेजियन फन्ड, जीटीजेड, आइएलओ, युके एड, युएस एड आदिबाट ल्याएर हामीले (यायोक्खाको नेतृत्वमा तहमा रहेका टाउके राई सर राईनी म्याडमहरुले) खायौं ! अब त नेपालमा सूचनाको हक पनि लागू भैसकेकोले कसैले खोज्दै आएमा हामीले त्यो सबै येन, क्रोन, पाउन्ड, डलर आदिको ब्यालेन्स् सिट देखाउन पर्ने हुन्छ । भनी घोषणा गर्दै र, अन्तमा विसं २०२१ सालको भूमिसुधार ऐन विसं २०२८/०२९ देखि तलतल (गाउँ–वडा तहमा) लागू भएपछि मात्रै रैती (त्यो बेलाको भाषामा जनता) हरुले नामको पछाडि राई लेख्न पाएको शब्दले कतापि पनि किराती एकता दिन/हनु सक्दैन भन्ने वास्तविकतालाई स्वीकार गर्दै संस्थगत रुपमा कसैको टाउकोमा पनि राई ! सिङको भारी नबोकाई कुलुङ, आठपहरिया, लोहोरुङ, मेवाहाङ, चाम्लिङ, नाछिरिङ, बाहिङ, साम्पाङ, खालिङ, बान्तावा आदिको वास्तविक र इतिहास प्रमाणित दस्तावेजहरुलाई आत्मसाथ गर्दै राई यायोक्खा नामक एनजिओका राई सर र राईनी म्याडमहरुले धरानमा गर्ने १० औं महाधिवेशनले नयाँ दस्तावेज पारित गरुन् भन्ने यो केही नजान्ने कुलुङे ढाक्रे (स्मरण रोहस्, कुलुङ समुदायलाई ‘कुलुङे ढाक्रे !’ भनी विशेषण विसं २०६१/०६२ ताकाका राई यायोक्खाका अध्यक्ष एमबीई कुलबहादुर राई हुन् । उनले सानो ठिमीमा कुलुङ समुदायका अगुवाहरुले टाउकामा राई ! जातिको फुर्को नराखी कुलुङ मातृभाषाको पाठ्यक्रम स्वीकृत गराउन खोजेको थियो । तर, राई यायोक्खाले टाउकोमा राईको फुर्को झुन्ड्याउनै पर्ने अड्डी लियो । फलतः लगभग ५/६ वर्ष कुलुङ भाषामा पठन–पाठन हुन पाएन । वास्तवमा यसको क्षतिपूर्ति राई यायोक्खाले दिनु/तिर्नु पर्छ कि पर्दैन ? प्रश्न गर्न सकिन्छ ।) को आग्रह छ । साथै महाधिवेशनमा आउने प्रतिनिधि र पर्यपेक्षक राई सर राईनी म्याडमहरुले पनि यो कुरोलाई गम्भीर ढंगले मनन् गर्नु हुन यो केही नजान्ने कुलुङे ढाक्रेको हार्दिक अनुरोध छ । तपाईहरु खालि ‘लाउके’ र ‘ठेउके’ पारामा हाहा–हुहु गर्ने, खाने, पिउने, घुम्ने, राम–रमाइलो गर्नेतिर मात्रै नलाग्नु होला । किनभने, इतिहा साह्रै निर्मम हुन्छ । हुन पनि कथित् राई जातिको नाममा खुलेको राई यायोक्खाको १० औं महाधिवेशनमा भाग लिन आएका तपाई प्रतिनिधि र पर्यपेक्षकहरुको पनि इतिहासमा मूल्यांकन हुने छ । हाम्रा भावी पुस्ताले हेर्दा तपाईँहरु राई यायोक्खाका केही (टाउकेहरु) हर्ताकर्ताहरुको ‘लाउके’ र ‘ठेउके’ मात्रै भएको देखेमा वा भनौं यो महाधिवेशनमा असली किराती पहिचान राईले दिन सक्दैन, यो राई हाम्रो असली पहिचान होइन, भनी कुनै पनि प्रतिनिधि र पर्यपेक्षकले मुख खोल्न सक्नु भएन भने इतिहासमा तपाईहरु ‘लाउके’ र ‘ठेउके’ नै प्रमाणित हुनुहुने छ । कि कसो हौ ? राई सर राईनी म्याडमहरु ? सबैलाई चेतना भया !!!

(यो लेखकको निजी बिचार हो । kehinajannekulung@gmail.com)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्