Logo

सगरमाथाको उचाइ मापन गर्न को-को पुग्दैछन् टाकुरामा


नेपालले इतिहासमा पहिलो पल्ट गर्न लागेको सगरमाथाको उचाइ मापन कार्य सगरमाथादेखि दक्षिणतिरका मध्यपहाडी तथा तराई क्षेत्रबाट शुरू भइसकेको छ।

विश्वको सर्वोच्च शिखरको उचाइ मापन कार्यले अहिले निकै गति लिएको नापी विभागका अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार सगरमाथाको नापी कार्यमा अहिले दक्षिणको सिराहदेखि सोलुखुम्बु लगायतका स्थानमा नापी प्राविधिकहरू खटिइसकेका छन्। सगरमाथाको टुप्पैसम्म पुगेर मापन कार्य पूरा गर्न आगामी वसन्त ऋतुमा चार जना नापी प्राविधिकहरूलाई सगरमाथामा पठाउने प्रक्रिया सुरु भइसकेको छ।

 

 

 

 

“चारमध्ये दुई जना टुप्पैसम्म पुग्नेछन्; दुई जनाले चाहिँ आधार शिविरमा रहेर काम गर्ने छन्,” नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बीबीसी नेपाली सेवासँग भने।

“पाँच जना छानिने छन्। एक जना जगेडा बस्नु पर्छ।”

कत्तिको उत्साहित छन् प्राविधिकहरू?

नापी कार्यतस्वीर कपीराइटDEPARTMENT OF SURVEY, NEPAL

सगरमाथा चढ्ने काम निकै जोखिमपूर्ण मानिन्छ। हरेक वर्ष कैयौँ आरोहीहरूको आरोहण गर्ने वा तल झर्ने क्रममा विभिन्न दुर्घटनामा परेर ज्यान जाने गरेको छ। हिउँ तथा बरफसँगको निरन्तर पौँठेजोरीको क्रममा कतिपय आरोहीले आफ्ना हात वा खुट्टाका औँलासमेत गुमाउन पुग्छन्।

निरन्तर सेतो हिउँ हेर्नु पर्दा कतिपय आरोहीको आँखाको ज्योति समेत गु्म्छ।

तर नापी विभागमा सगरमाथाले अहिले उत्साहको लहर नै ल्याएको छ। त्यहाँका १९ जना प्राविधिकहरूले सगरमाथा चढ्ने इच्छा प्रकट गर्दै आवेदन हालिसकेका छन्।

“उहाँहरू २२-२३ देखि ५२ वर्ष उमेरको हुनुहुन्छ। प्राविधिकदेखि इन्जिनियर र अधिकृतदेखि उपसचिवसम्मले चासो देखाउनु भएको छ,” नापी विभागका निर्देशक एवं सुचना अधिकारी दामोदर ढकालले बीबीसीसँग भने।

कौतूहल हुन सक्छ: नेपालको पहिलो आफ्नो सगरमाथा नापी अभियानमा के महिला कर्मचारी वा प्राविधिकले पनि चासो देखाएका होलान्?

जबाफमा ढकालले भने, “आवेदन दिनेहरूमा महिला पर्नु भएको छैन।”

शेर्पा आरोहीहरूको महत्त्वपूर्ण भूमिका

सगरमाथा क्षेत्रतस्वीर कपीराइटREUTERS

उचाइ नाप्न शिखर चढ्ने इच्छा देखाएका प्राविधिकहरूलाई सगरमाथाको टुप्पोमा पुर्‍याउन पर्वतारोहण प्रशिक्षण दिने काम पनि सुरु हुन लागिसकेको छ। अनुभवी प्राविधिकहरूलाई पर्वतारोहण कौशल र सीप सिकाउने जिम्मेवारी राष्ट्रिय पर्वतारोहण प्रशिक्षण प्रतिष्ठानको काँधमा गएको छ।

शेर्पा आरोहीहरूको सहयोगमा प्रतिष्ठानले नापी प्राविधिकहरूलाई राजधानी काठमाण्डू र लाङटाङ क्षेत्रमा प्रारम्भिक प्रशिक्षण दिँदैछ। त्यसपछि सगरमाथा आरोहणका लागि योग्य पाँच जना प्राविधिकहरू छानिने छन् र उनीहरूलाई आउने वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा खटाइने छ।

नेपालकै पहिलो सगरमाथाको उचाइ मापन अभियानमा शेर्पा आरोहीहरूको भूमिका के होला? महानिर्देशक भट्टका अनुसार खुला बोलपत्र आह्वान गरेर आरोहण गराउने र व्यवस्थापन गर्ने आरोहण कम्पनीको छनौट गरिनेछ।

“शेर्पा आरोहीहरूको भूमिका ज्यादै महत्त्वपूर्ण हुनेछ। उहाँहरुको साथ सहयोग र मार्गदर्शनमा नै हाम्रो आयोजनाको सफलता निर्भर रहनेछ,” भट्टले भने।

२२ पटक सगरमाथाको शिखरमा पाइला राखिसकेका प्रख्यात पर्वतारोही कामीरिता शेर्पाले नेपालको पहिलो सगरमाथाको उचाइ मापन प्रयासको खबर सुनेर शेर्पा समुदाय तथा आरोहीहरू पनि उत्साहित भएको बताए। उनी आउने वसन्तमा पनि सगरमाथा आरोहण गर्ने तयारीमा छन्।

तर उनले बीबीसीसँग भने, “विदेशीले नापिसकेका छन्। अब नेपाल आफैँले गर्न लागेको नापी टोलीमा म आफैँ पनि सहभागी हुन पाए त्यो मेरो लागि गौरवको विषय हुनेछ।”

कसरी अघि बढ्दैछ नापीको काम?

सगरमाथातस्वीर कपीराइटSCIENCE PHOTO LIBRARY

सगरमाथा उचाइ आयोजना कार्यान्वयन गर्नको लागि विभागले गत वर्ष दुई करोड रुपैयाँ पाएको थियो। “यो वर्ष त्यो बढेर १५ करोड रुपैयाँ पुर्‍याइयो र त्यसपछि नापीको कामले गति लिएको हो,” महानिर्देशक भट्टले भने।

प्राविधिकहरूले यतिखेर सिराहको नेपाल-भारत सीमा नजिकैको मदारदेखि सोलुखुम्बुको पताले र वरपरका विभिन्न बिन्दुमा पुगेर भूउपग्रहको सहायताले जमीनको अवस्थिति पत्ता लगाउने जीपीएस र गुरुत्वआकर्षण मापन गर्ने ग्राभिमिटर लगायतका उपकरणहरूको प्रयोग गरि मापन तथ्याङ्क संकलन गरिरहेका छन्।

भट्टले अहिलेसम्म सगरमाथा उचाइ मापनको ४० प्रतिशत काम भइसकेको बताए। “अहिले हामीले गुरुत्व सर्भेका साथै गणितीय तथा समतलन सर्भे गरिरहेका छौँ। सिराहको मदारदेखि सोलुको पताले लगायत १०-१२ ठाउँमा काम भइरहेको छ। गुरुत्व सर्भेका लागि १०० भन्दा बढी स्थानमा काम भइरहेको छ।”

उनका अनुसार आउने वसन्त ऋतुमा नापी टोलीले जीपीएस र अन्य उपकरणसहित सगरमाथाको टाकुरामा पुगेर तथ्याङ्कहरू ल्याउन सफल भएमा सगरमाथा उचाइ मापनको सबैभन्दा महत्तपूर्ण काम पूरा हुनेछ।

“त्यसपछि हामी भारत र चीन लगायतका अन्तर्राष्ट्रिय नापी विज्ञहरूसँग छलफल गर्दै नापीको परिणाम सार्वजनिक गर्छौँ। त्यसो गर्दा हामीले सार्वजनिक गर्ने सगरमाथाको नयाँ उचाइलाई विश्व समुदायले स्वीकार गर्नेछ।”

नेपाल आफैँले नाप्नु पर्ने कारण

सन् १९२४को ब्रिटिश सगरमाथा आरोहण दलकोतस्वीर कपीराइटRGS-IBG/SALTO-ULBEEK

नेपाल आफैँले कहिल्यै सगरमाथाको नापी गरेको छैन।

विश्वको सर्वोच्च शिखरको पहिचान भएपछि त्यो हिमाली चुचुरोलाई अङ्ग्रेजहरूले माउन्ट एभरेस्ट नाम दिए। इतिहास शिरोमणि बाबुराम आचार्यले त्यसलाई नेपाली नाम दिए – सगरमाथा।

त्यसको पहिलो मापन सन् १९५० को दशका भारतकै सक्रियतामा भएको थियो। त्यसपछि त्यसको उचाइ ८,८४८ मिटर भनियो।

नेपाल र बाँकी विश्वले त्यही उचाइ स्वीकार गर्‍यो।

भूगर्भविद्हरूचाहिँ हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेशियाली प्लेटको हलचल जारी रहेको र त्यसले गर्दा हिमालयको उचाइ बढिरहने हुन सक्ने ठान्दछन्। त्यस्तो पृष्ठभूमिमा सन् १९९९ मा अमेरिकाको न्याशनल जिओग्राफिक सोसाइटीले जीपीएसको सहयताले सगरमाथाको उचाइ ८,८५० मिटर रहेको निष्कर्ष निकालिदियो।

त्यसलाई नेपालले स्वीकार गरेन।

सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि ‘चुमोलोमा’ अर्थात सगरमाथाको उचाइ ८,८४४ जति रहेको र त्यसमा हिउँको उचाइ चार मिटर जति रहेको निष्कर्ष निकालियो। उचाइ विवाद झनै चर्किन पुग्यो।

सन् २०१० तिर मात्रै सगरमाथाको उचाइ पुन: ८,८४८ मिटर नै हो भन्ने सहमति जुट्यो।

अबको नतिजा

अहिले फेरि नेपालको सगरमाथा उचाइ मापनतर्फ सबैको ध्यान केन्द्रित भइरहेको छ। सँगसँगै त्यसले दिने परिणामको व्यग्र प्रतीक्षा पनि।

नापी विभागका महानिर्देशक भट्ट भन्छन्, “यो वैज्ञानिक काम हो। वसन्त ऋतुमा हामी आरोहण गर्न सफल भयौँ भने हाम्रो सर्वेक्षणले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ कि छैन भनेर जाँच गर्ने र भिडाउनु पर्ने हुन्छ। त्यसपछि हामीले सबैलाई स्वीकार्य हुने गरी मापनको नतिजा निकाल्छौँ।”

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्