हलेसीसँगै तुवाचुङमा पनि गुरुयोजना
-मान्सुङ चाम्लिङ
पवित्र प्राकृतिक स्थलभूमी, तीर्थधाम, पर्यटकिय स्थल तथा किरातीहरुको उद्गम स्थल तुवाचुजायजुम् खोटाङ जिल्लाको मात्र नभएर विश्वभरका किरातीहरुको गौरवको स्थल, ईतिहास र पहिचान जोडिएको स्थल तुवाचुङ मानिन्छ । किरातीहरु पेसा, व्यवसाय तथा अन्य विविध कारणले विश्वभर छरिरहेर विश्वभरमा रहेता पनि उनीहरुले आफ्नो पुर्खा, किरात जन्मतादा, भूमी तुवाचुङलाई मान्दछन् । यसकारण यसलाई ऐतिहासिक रुपमा संरक्षण, सम्बद्र्धन गर्न आवश्यक छ । यसैलाई आधार मानेर तुवाचुङ जायजुम गुरुयोजनाको लागी छलफल कार्य सम्पन्न भएको छ ।
हलेसी तुवाचुङ नगरपालीकाले समग्र हलेसीलाई विकास गर्नको लागी हलेसी गुरुयोजना समिति गठन गरेसँगै यसको गति तिब्ररुपमा अगाडी बढीरहेको समयमा हलेसीसँगै जोडिएर रहेको तुवाचुङको पनि त्यत्तिकै महत्व भएकोले यसलाई पनि हलेसीसँगै गुरुयोजना बनाएर लाने तुवाचुङ जायजुम समितिको निर्णसँगै नगरपालीकासँग समन्वय गर्दै अगाडी बढेको छ । सोही कदम स्वरुप तुवाचुङ जायजुम संरक्षण समितिको पहलमा महासचिव दिनेश राई, सचिव भिमकेसर राई, सदस्य टेकराज राई लगायतका कार्यसमितिहरु तथा नगरपालीकाको नगरप्रमुख ईबन राई तथा नगर उपप्रमुख विमला राई लगायतका क्रियासिल समूदायका सदस्यहरुले अवलोकन भ्रमण तथा तुरुन्त गर्नुपर्ने कार्य बारेमा छलफल गरेका छन् । यस समितिले हलेसी गुरुयोजना छलफलको क्रममा समेत हलेसी गुरुयोजनासँगै विकास गर्नुपर्ने तथा समावेस गर्नुपर्ने २६ वटा कार्यहरु पेस गरिसकेका छन् ।
तुवाचुङ जायजुम्लाई संरक्षण तथा सम्वद्र्धन गर्न आवश्यक गर्नुपर्ने कार्यहरु हलेसी गुरुयाजनाको छलफलमा पेस भएका कार्यहरुः
(क) तुवाचुङ जायजुम् ऐतिहासिक स्थलको भूमि संरक्षण गर्नको लागि ऐतिहासिक भूमि अधिकरणलाई रोक्दै भूमिको संरक्षण गर्नुपर्ने ।
(ख) तोयामा खियामा दिदी बैनिले तान बुन्दै गरेको मूर्ति ५ देखि १० रोपनीको भूभागमा तयार गर्ने ।
(ग) हेछाकुपाले हलो जोत्दै गरेको मूर्ति साथै रैछाखुलेले कृषि सुरुवात गरेको भौतिक मूर्ति निर्माण गर्ने । उक्त प्रतिमा १० देखि १५ रोपनी जग्गामा तयार गर्ने ।
(घ) हेछाकुपाले शिकार खेल्ने जंगलको क्षेत्र एरिया निर्धाण र निर्माण गर्ने ।
(ङ) क्तभूमिमा ३,००० देखि ४,००० सम्म मान्छे अट्ने कार्यक्रम हल तथा २०० वटा सम्म गाडी, बाईक पार्किङ व्यावस्था गर्ने ।
(च) किरात संग्राहलयको निर्माण गर्ने । उक्त संग्राहलय १० देखि १२ रोपनीमा तयार गर्ने ।
(छ) होमस्टे (धर्मशाला) गेष्टहाउस जस्तो बस्नलाई सहजहुने सर्बसुलभ रुपमा बस्न सकिने गेष्ट हाउस व्यावस्थापन गर्नु पर्ने उक्त स्थल ४० रोपनी सम्मको व्यवस्था गर्ने ।
(ज) किरात अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने ।
(झ) हेछाकुपा बगैँचा÷कपास बगैँचा निर्माण गर्ने ।
(ञ) वर्खेतार झ्याक्री डांडामा (मबोथेम चुङ) विशाल चिन्डोको मूर्ति निर्माण गर्ने, उक्त चिन्डो निर्माण गर्दा चढ्न, बस्न व्यवस्थित हुने किसिमको बारदली सहितको निर्माण गर्ने ।
(ट) रैछाकुलेको (रेम्माला) चिहानलाई संरक्षण गर्ने ।
(ठ) रैछाखुलेले बाण÷ धनुवान (तालिभे) ले बाण हानेर पानी निकालेको स्थलमा संरक्षण गर्ने ।
(ड) भाले (वापा) उफ्रेको स्थल खरिद गर्ने र संरक्षण गर्ने ।
(ढ) मामा साफोक्ते बैनि खियामालाई खाने स्थल संरक्षण तथा स्म्बर्दन गर्ने । त्यसमा सोही किसिमको प्रतिमा तयार गर्ने ।
(ण) पिलोते डाँडाबाट झ्याक्री डाँडा (मबोथेम चुङ) सम्म केबलकार स्थापना गर्ने ।
(त) सोलोमा भिरको थाप्लोमा (चुङ्मा) हेछाकुपा को मूर्ति स्थापना गर्ने । साथै रेलिङ र बगैँचा निर्माण गर्ने ।
(थ) तुवाचुङ जायजुम् स्थल प्रवेश द्धार (स्वरुप) गेट हलेसीमा एक, अर्को गेट तोवाचुङ पुग्ने स्थलमा र दिक्तेलबाट आउँदा नागिमा गेट गरी ३ वटा गेट बनाउने ।
(द) तुवाचुङ स्थललाई सबैबाट रेलिङ÷तार जालीले घेराबार गर्ने । उक्त रेलिङ संस्कृति झल्किने किसिमको राख्ने ।
(ध) तुवाचुङ कार्यालय भवनदेखि हेछाकुपाको मूर्ति स्थलसम्म खुड्किलो (स्टेप) सिंढी तथा रेलिङ राख्ने ।
(न) तुवाचुङ भित्तामा तुवाचुङ जायजुम् अक्षर टाढाबाट देखिने गरी सिमेन्ट÷वा आइनको निर्माण गर्ने ।
(प) खोटाङको पश्चिम, उत्तर, दक्षिण, र पूर्व सबैतिरबाट तुवाचुङ पुग्ने दुरि र जाने नक्सा बाटो बाटोमा राख्ने ।
(फ) बसाहागुफा (हेछाकुपा थाम) मा हेछाकुपाको मुर्ति राख्ने ।
(ब) खियामा (वैनी) को स्थलमा पर्खालमा व्यवस्थित गर्ने ।
(भ) सुत्केरी ढुंगा (कुप्सीमा लुङ) लाई संरक्षण गर्ने ।
(म) हेलीप्याड ग्राउण्ड निर्माण गर्ने ।
(य) तुवाचुङ जायजुम् भवन स्थलदेखी तल नजिकै रहेको पानीलाई लिफ्टीङ बाट माथि पानी लगी आवश्यक व्यवस्थापन गर्ने ।