हलेसी गुरुयोजनाको संयोजकमा मा. विशाल भट्टराई

-राजु बिक्रम चाम्लिङ
साँस्कृतिक, धार्मिक र पर्यटकिय हिसाबले विश्वको प्राकृतिक महत्वको वरदान मध्ये हलेसी एक हो । विश्वको एकमात्र त्रिधार्मिक (किरात, हिन्दू र बौद्ध) तीर्थस्थल भन्दा बढी पर्यटकिय हिसाबले अझबढी महत्व बोकेको छ । भौगोलिक विकट जिल्लाको रुपमा चिनिने खोटाङ जिल्ला विकासको हिसाबले बामे सरिरहेको अवस्था छ । तर पनि यसलाई राज्यले व्यवस्थापन गर्न नसक्दा तथा स्थानिय जनताहरुको मात्र पहलले यसलाई व्यवस्थित गर्न सम्भव नहुने हुनाले यसलाई स्थानिय, प्रदेश र संघिय सरकारको सहकार्यमा, सरकार तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायहरुको सहयोग र सहकार्यमा मात्र यस हलेसी गुरुयोजनालाई व्यवस्थित बनाउन सकिने निकर्ष आएसँगै हलेसी तुवाचुङ नगरपालीकाको विशेष पहल तथा आयोजनामा हलेसी गुरुयोजना गोष्ठि सम्पन्न गरियो । खोटाङ जिल्लाको माननियहरु, पूर्व माननियहरु, वुद्धिजिविहरु, राजनीतिक नेतृत्वहरु, समाजसेवी तथा सामाजिक अभियान्ताहरुको व्यापक उपस्थितिमा राष्ट्रिय युवा परिषदको कार्यालय भक्तपुरमा उक्त कार्यक्रम सम्पन्न गरियो ।
नगर प्रमुख ईबन राईको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठी कार्यक्रम मा. विशाल भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा हलेसी गुरुयोजना निर्माण गर्नको लागी आवश्यक सहकार्य गर्न सबैलाई आहान गर्दै स्वागत भाषणको रुपमा उपमेयर विमला राईले केही विषयहरु बारे थालनी गरेकी थिइन । हलेसीमा अहिले सम्म नगरको क्रियासिलतामा भएको प्रगति विवरण र भावी सम्भावनाहरुको बारेमा सँस्कृति विद् भोगीराज चाम्लिङले प्रस्तुतीकरण गर्नु भएको थियो । यसैगरी ऐतिहासिक, साँस्कृतिक, धार्मिक र भावि सम्भाव्यताको बारेमा संस्कृतिविद् प्रा.डा. रमेश ढंगेलले विषयवस्तु राख्नु भएको थियो । विषय वस्तुहरुको उठानसँगै विज्ञहरुद्धारा आ–आफ्नो धारणाहरु राखेका थिए । उक्त धारणा पश्चात किरात, हिन्दु र बौद्ध समूहमा विभाजन गरेर समूहको छलफललाई टोली प्रमुखले प्रस्तुतीकरण गरेका थिए ।
छलफल तथा सुझावको क्रममा प्रदेशसभा मा. हिरा गुरुङ, सांसद मा. राम कुमार राई पूर्वसांसदहरु टंक राई, विदुर पौडेल, हरि रोका, सरस्वती बजिमय लगायतले स्थानिय, प्रदेश र संघिय सबै मिलेर सहकार्य गरेर गुरु योजनालाई सफल पार्न सहकार्य गर्नु पर्ने भएकोले एकतावद्ध भएर अगाडी बड्ने प्रतिवद्धता गरे । यसैगरी खोटाङ जिल्ला पार्टी नेतृत्वहरु देब बिक्रम राई, सुवास पोखरेल, देवान किराती, नरेश श्रेष्ठ, रमेश पौडेल लगायतले सुझाव दिएका थिए । साथै बुद्धिजिविहरुमा डा. धनप्रसाद सुवेदी, भुपाल राई, जयकुमार राई, उपप्राध्यपक पशुपति न्यौपाने, मदन राई लगायतले सुझाएका थिए । सामाजसेवी तथा सामाजिक अभियान्त राकेश राई, विएस चाम्लिङ, दिनेश राई लगायतले सुझावहरु दिएका थिए । उपस्थित अन्य ६५ भन्दा बढीले सुझावहरु पेश गरेका थिए ।
छलफलमा आएको सुझावहरुलाई कार्यन्वयन गर्न गुरुयोजनाको तयारी गर्नको लागी प्रतिनीधि सांसद मा. विशाल भट्टराईको संयोजकत्वमा संघिय सांसद, प्रदेश सांसद, पूर्व मन्त्रिहरु, पूर्व माननियहरु, किरात, हिन्दु र बौद्ध धर्म हबाट एक–एक जना, नगरप्रमुख, उपम्रमुख, सोही स्थानको वडाअध्यक्ष लगायत समावेसी समिति गठन गरिएको छ । उक्त समितिको कार्यतालिका अनुसार नगरसभा, प्रदेशसभा र संघियसभाद्धारा नै गुरुयोजना पारित गरी कार्यान्वयनमा लैजाने हलबाट पारित गरिएको छ ।
स्मरण रहोस किरात, बौद्ध र हिन्दु धर्मको इतिहास कुनै न कुनै रुपमा यस हलेसीमा आएर जोडिन्छ । यसकारण यस हलेसीलाई तीर्थस्थलको रुपमा मात्र होइन पर्यटकिय रुपमा पनि विकास गर्न संभव भएको हुनाले यस समितिसँग तमाम् सबैले सहकार्य गरेर विकास गरौं । जसको परिणाम समृद्धि नेपाल निर्माणको लागी उदाहरणीय रुपमा कोषेढुंगा सावित हुन सकोस ।