Logo

खोटाङमा ‘एक घर–एक सीपमूलक रोजगारी’ सहितको नमुना वस्ती योजना


खोटाङमा भूकम्पपीडित लाभग्राहीहरुका लागि ‘एक घर–एक सीपमूलक रोजगारी’को अवधारणसहित एकीकृत नमुना वस्ती निर्माण योजना सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कका भूकम्पपीडित लाभग्राहीका लागि सोही स्थानमा ‘रामनाथ नमुना एकीकृत वस्ती’को सिलन्यास भईसकेको छ । स्थानीय भूकम्पपीडतहरुको पहलमा सोही स्थानका सारदाप्रसाद ढकालवाट साँडे सात रोपनी जग्गा निःशुल्क उपलब्ध भएपछि नेपालकै पहिलो सीपमूलक व्यवसाय तथा जीविकोपार्जनसहितको एकीकृत नमुना वस्ती वनाउने योजना सुरु गरिएको थियो । उपलब्ध जग्गा प्राविधिक हिसावले उपयुक्त ठहरिएपछि भूकम्प पूर्ननिर्माण प्राधिकरण र नगरपालिकाको सहयोग तथा समन्वयमा वस्ती निर्माणको काम अघि बढेको हो ।
एकीकृत वस्तीमा घर निर्माण गर्ने पीडितहरुलाई सीपमूलक तालिम प्रदान गरी सोही ठाउँमा रोजगारीको समेत ब्यवस्था गर्ने निर्माण उपभोक्ता समितिको संयोजक प्रमेश ढकालले जनाउनुभएको छ । स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनलाई भरपूर सदुपयोग गर्नेगरी सीपमूलक तालिम तथा रोजगारीको यवस्था गर्ने अवधारणा वनाईएको संयोजक ढकालको भनाई छ । अवधारणाअनुरुप नमुना वस्तीमा उत्पादन गरिएका सीपमूलक वस्तुहरु बिक्रि गर्नका लागि उक्त स्थानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने गरी योजना वनाईएको छ । मध्यपहाडी लोकमार्गले छोएको स्थान तथा नगरपालिकाले नजिकै पर्ने वुइपाको पञ्चरदोवाटोमा विश्वकै अग्लो यलम्वरको प्रतिमासहितको पार्क निर्माणको योजना समेत अघि बढाएकाले नमुना वस्तीसम्म पर्यटक तान्न सकिने विश्वास गरिएको छ । पर्यटन विकासको लागि नगरपालिकाले एकीकृत योजनाहरु वनाईरहेका छन् ।
राज्यले वनाएको मापदण्डअनुरुप निर्माण गरिने नमुना वस्तीमा २० पीडित तथा ४ अन्य गरी २४ परिवारका लागि नमुना घर वन्ने भएको छ । जसमध्ये १६ वटाको नक्सा पास भईसकेको छ । वस्तीमा घर निर्माण गर्न चाहाने अन्यलाई समेत सःशुल्क तथा निःशुल्क जग्गा उपलब्ध गराउन सकिने जग्गाधनीले जनाएका छन् । रमणीय स्थलमा निर्माण हुने वस्तीलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने विविध योजना वनाईएको वताईएको छ । वस्ती निर्माण हुने स्थानवाट सुर्योदय तथा सुर्यास्तको दृश्य अवलोकनका साथै टेम्के, रुपाकोट लगगायतका विभिन्न पहाडी श्रृंखलाहरुको समेत दृश्यपान गर्न सकिन्छ ।
एकीकृत वस्ती नजिकै राधाकृष्ण मन्दिर, चिल्ड्रेनपार्क, सीपमूलक सामाग्रीहरु सहितको सामुदायिक भवन, फ्री वाईफाई, होमस्टे तथा सामुहिक खेती प्रणालीको अवधारणा अघि सारेको जनाईएको छ । दशैं, तिहारपछि निर्माणको कामलाई तीव्रता दिईने निर्माण उपभोक्ता समितिले जनाएका छन् । एकीकृत नमुना वस्ती निर्माणको लागि नगरपालिकाले यस अघि नै प्रष्ट अवधारणा वनाएकोमा विजयखर्कका स्थानीयले इच्छााशक्ति देखाउनका साथै समन्वयात्मक काममा चासो देखाएकाले काम अघि बढेको नगर प्रमुख दिपनारायण रिजालको भनाई छ । नगरपालिकाले भूकम्प पूर्ननिर्माण प्राधिकरण तथा सम्वन्धित निकायसँग समन्वय गर्नका साथै सुझ–बुझका साथ हात हालिसकेकोले कुनै पनि हालतमा उक्त स्थानमा नमुना वस्ती निर्माण भईछाड्ने मेयर रिजालले प्रष्ट पार्नुभएको छ ।
मेयरका अनुसार अव तत्कालै नगरपालिकाले स्क्याभेटर प्रयोग गरी उक्त स्थानमा लेभलिङको काम गरेपछि डिटेल नक्सा तयार पार्नेछ । डिटेल नक्सापछि नगरपालिकाले प्राधिकरणसँग सम्झौत गरी पूनः निर्माण उपभोक्ता समितिसँग सम्झौता गरी संरचना निर्माण कार्य अघि बढाउनेछ । नमुना वस्तीमा वस्न तयार भुकम्प पीडितले लाभग्राही भए वापत पाउने तीन लाख रुपैंयाँ अनुदान सोही एकीकृत वस्तीमा वन्ने घर निर्माणमै खर्च गरिने प्रष्ट पारिएको छ । नगरपालिकाको ८ नम्वर वडा दोर्पामा पनि एकीकृत नमुना वस्ती निर्माणको अवधारणा वनाईएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्