ट्रम्पलाई इरानी राष्ट्रपतिको चेनावनी
तेहरान : इरानको दक्षिण पश्चिम क्षेत्रमा शनिबार भएको आक्रमणमा अमेरिकी सहयोगप्राप्त इस्लामवादी लडाकु समूहले गराएको इरान सरकारले आरोप लगाएको छ।
सरकारले आतंकवादी समूहले गोली चलाएको दाबी गरे पनि शनिबार साँझसम्म आक्रमणको जिम्मा कुनै पनि समूहले लिएको छैन।
इरानमा सैन्य कवाज (परेड) चलिरहेका समय अन्धाधुन्ध गोली चलेको र आक्रमणमा परी मृत्यु हुनेको संख्या २४ पुगेकोे र ५३ जना घाइते भएको इरानको राज्य सञ्चालित इर्नाले जनाएको छ।
इरानका विदेशमन्त्री मोहम्मद जावेद जरीफले इरानको दक्षिण पश्चिममा सक्रिय एक अमेरिकी सहयोगप्राप्त संगठन जिम्मेवार रहेको दाबी गरेका छन्।
अहवाजमा विदेशद्वारा भर्ना लिएको, तालिम दिएको, हतियार उपलब्ध गराएको तथा उनीहरूलाई भुक्तानी गर्ने गरेको आतंकवादीले आक्रमण गरेको विदेशमन्त्री जरीफको स्पष्टोक्ति छ।
जरीफले भने, ‘इरानले त्यस क्षेत्रमा आतंकवादीलाई आर्थिक रूपमा संरक्षण दिँदै आएका विदेशी र उनीहरूका अमेरिकी मालिक आक्रमणका जिम्मेवार छन्।’
आक्रमण भएको स्थान अहवाज शहर इरानको इराकी सिमानामा पर्ने खुजिस्तान प्रान्तमा पर्छ। उक्त स्थान इरानमा अल्पसंख्यक मानिने अरब समुदायको बाहुल्य भएको क्षेत्र हो।
खुजिस्तानमा यसअघि पनि पृथकतावादी हिंसात्मक आन्दोलन हुने गरेको र यसमा तेहरानका क्षेत्रीय प्रतिस्पर्धीको हात रहेको इरानले आरोप लगाउँदै आएको थियो।
मृतकमध्ये एउटी नाबालिका, केही प्रत्यक्षदर्शी महिला तथा ह्विलचियरको सहारामा परेड हेर्न आएका एक पूर्वसैनिक पनि परेको सेनाका प्रवक्ता तथा ब्रिगेडियर जनरल अबोलफजल शेकर्चीले जानकारी दिएका छन्।
आक्रमणकारीमध्ये तीनजना घटनास्थलमै मारिएका थिए भने एकजनालाई घाइते अवस्थामा पक्राउ गरिए पनि केही समयपछि मृत्यु भएको प्रवक्ता शेकर्चीले बताए।
विदेशमन्त्री जरीफले अमेरिकी सहयोगप्राप्त क्षेत्रीय प्रतिस्पर्धी नै घटनामा जिम्मेवार रहेको भन्दै इराकतर्फ संकेत गरेका छन् भने इरानको रिभोलुसनरी गार्डले साउदी अरबको सुन्नी समूहद्वारा संरक्षण दिइँदै आएको इरानी लडाकू समूह जिम्मेवार रहेको बताएको छ। सेना तथा सर्वसाधारणमाथि शनिबार गोली चलाउने समूह अहभाजी आन्दोलनसँग सम्बद्ध रहेको गार्डका प्रवक्ता रामेजान शरीफले बताए।
विदेशमन्त्री जरीफले आक्रमणको तत्काल र निर्णायक जवाफ दिइने बताएका छन्। यसैबीच इरानको निकट सहयोगी मानिने रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले घटनापछि शोक सन्देश पठाउँदै आक्रमणको निन्दा गरेका छन्। इरानमा भएको कठोर आक्रमणले आफूलाई निकै दुःखी तुल्याएको उनले बताएका छन्।
रूसी राष्ट्रपतिले भने, ‘यो घटनाले एक पटक फेरि आतंकवादविरुद्ध सम्झौताहीन युद्धको आवश्यकताको स्मरण गराएको छ।’ खुजिस्तान तत्कालीन इराकी शासक सद्दाम हुसेनका समय अर्थात् सन् १९८० मा इरान र इराकबीचको प्रमुख युद्धस्थल हो। यहाँ सन् २००५ देखि सन् २०११ सम्म पनि युद्धका घटना भएका थिए। उक्त स्थान सन् २०११ पछि भने निकै शान्त रहँदै आएको थियो।
ट्रम्पको सद्दामको जस्तै हाल हुने चेतावनी
इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालत इराकका पूर्वराष्ट्रपति सद्दाम हुसेनको जस्तै हुने चेतावनी दिएका छन्। इरानलाई सिध्याउन खोजेको इराक र त्यसका राष्ट्रपति हुसेनलाई जस्तै विफल बनाइदिने रुहानीको भनाइ छ।
अमेरिकाले दबाब दिँदैमा इरानले आफ्नो क्षेप्यास्त्र नष्ट नगर्ने पनि उनले स्पष्ट पारे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मे महिनामा इरानसँग भएको आणविक सम्झौता नमान्ने घोषणा गरेपछि इरान र अमेरिकाबीच निकै तनावपूर्ण अवस्था सिर्जना भएको छ।
गत अगस्तमा अमेरिकाले इरानमाथि थप नाकाबन्दी लगाइएपछि यी दुई शक्तिबीच आरोप–प्रत्यारोपमा लागेका छन्। उनले इरानमा नौसैनिक शक्ति प्रदर्शनका क्रममा यस्तो खुलासा गरेका हुन्। रुहानीले भने, ‘इरान आफ्नो सुरक्षाका निम्ति हतियार नष्ट गर्दैन। यसमा अमेरिकाले विरोध गर्दै आएका क्षेप्यास्त्र लगायतका हतियार पनि छन्।’
अमेरिकाले इरानलाई कमजोर पार्न विभिन्न उपायमा जुटेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ४ नोभेम्बरसम्म इरानबाट तेल आयात बन्द गर्न आदेश दिइसकेका छन्। उक्त आदेश पालना नगर्ने देश र कम्पनीमाथि प्रतिबन्ध लगाउने ट्रम्पले चेतावनी दिँदै आएका छन्।