मन्त्रालयका ५३ कर्मचारी विदेश सयरमा
काठमाडौं । सरकारले सुशासन र समृद्धिको नारा दिइरहेका बेला एउटै मन्त्रालयका ५३ कर्मचारी दाताको खर्चमा विदेश भ्रमणमा गएका छन् । साढे २ महिना अवधीमा वन तथा वातावरण मन्त्रालयका ५३ कर्मचारी विदेश भ्रमणमा गएपछि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत रुष्ट बनेका छन् । मन्त्रालय स्रोतका अनुसार कार्यालयमा काम गर्ने भन्दा पनि दाताको खर्चमा विदेश भ्रमणमा जाने कर्मचारी धेरै भएपछि मन्त्री बस्नेत असन्तुष्ट बनेका हुन् ।
गएको असार २१ देखि असोज ५ गतेसम्म झन्डै साढे २ महिनामा मन्त्रालयका ५३ कर्मचारी भ्रमणका लागि विभिन्न देशमा पुगका छन् । यसरी विदेश घुम्नेमा मन्त्रालयका सचिव, विभागका प्रमुखदेखि सहायक अधिकृतस्तरका कर्मचारीसम्म छन् ।
वन मन्त्रालयका सचिव डा.विश्वनाथ योगी भदौ १९ गते ५ दिने भ्रमणका लागि थाइल्याण्ड गएका थिए । यस्तै सहसचिव डा।रामप्रसाद लम्साल भदौ १५ देखि १० दिने भ्रमणका लागि थाइल्याण्ड गएका थिए । उनीहरु यूएनसीसीएस दातृनिकायको कार्यक्रममा गएका हुन् ।