सहिद घोषणा माग गर्दै विरोध प्रदर्शन
रोल्पा (लिबाङ) – रोल्पा नगरपालिकाका तरुण दलका नगर सभापति रोहित पुनको हत्याको विरोधमा सोमबार दिनभर बजार, यातायात र शिक्षण संस्था बन्द बन्द भएका छन्। आइतबार साँझ पुनको सुलिचौर बजारमा गोली हानी हत्या भएको थियो।
घटनामा संलग्न र योजनाकारलाई पक्राउ गरी कारवाही गर्नुपर्ने, मारिएका पुनलाई सहिद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै सदरमुकाम लिबाङ बजारमा विरोध प्रदर्शन गरेका हुन्। तरुण दलको आयोजनामा भएको प्रदर्शनमा नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो।
पीडित परिवारले दिनभर शव बुझ्न मानेन्। शवको पोस्टमार्टम हुन सकेको छैन। शव जिल्ला अस्पतालमा राखिएको छ। परिवारले प्रहरीमा जाहेरीसमेत दिएका छैनन्।
विरोध जारी रहेकै बेला प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले सर्वदलीय बैठक गरेका छन्। सर्वदलीय बैठकमा प्रशासनले दोषीलाई कारवाही गर्ने, सहिद घोषणा र क्षतिपूर्तिबारे गृहमन्त्रालयमा पठाउने सहमति भएको छ।