जोखिम नमोल्ने भए सायद म राजनीतिमा रहन्नथेँ- गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू आसन्न निर्वाचनबाट विजयी भए संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने बताएका छन् । उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ बाट पुनः प्रतिनिधिसभा सदस्य पदको उमेदवार छन् ।
शनिबार काठमाडौंमा आयोजित बुद्धिजीवीहरूको भेलामा महामन्त्री थापाले आसन्न निर्वाचनपछि आफूले प्रधानमन्त्रीका लागि पार्टीको संसदीय दलबाटै प्रयास गर्ने बताए ।
“प्रधानमन्त्रीका लागि ‘एटेम्ट’ गर्छु भनेपछि धेरैले मलाई जोखिम हुन्छ, किन बोलेको भन्नुभयो, मैले यो लहडमा बोलेको होइन, एटेम्ट गर्ने हो,” उनले भने, “जोखिम नमोल्ने भए सायद म राजनीतिमा रहन्नथेँ होला । जोखिम मोल्ने हो, प्रधानमन्त्रीमा एटेम्ट पनि गर्ने हो ।”
दलहरूभित्र संसदीय दलको चुनाव हुने अवस्था नदेखिएको उनको भनाइ छ । “यो चुनावबाट जनताले परिवर्तनको अपेक्षा गरेका छन् । तर, जुनसुकै दलको बहुमत आए पनि संसदीय दलको चुनावसम्म पनि हुने अवस्था छैन । मैले हारेँ भने मेरो दल नेपाली कांग्रेसमा पनि संसदीय दलको चुनाव हुँदैन,” उनले भने, “मैले मात्र जितेर हुँदैन, मलाई प्रस्ताव गर्न झापा–१ मा चुनाव जित्न आवश्यक छ । मेरो समर्थक बस्न काठमाडौ–५ मा चुनाव जित्न आवश्यक छ ।”
महामन्त्री थापाले जनतामा राजनीतिक दल र नेतृत्वप्रति व्यापक असन्तुष्टि रहेको उल्लेख गरे । “सरकार त हामी एक–डेढ वर्ष चलाइरहेकै छौँ । चुनावपछि पनि सरकार बनाउने मात्र लक्ष्य लिने हो भने त्यो असन्तुष्टि ५/६ महिना थेग्न पनि मुस्किल हुनेछ,” उनले भने, “त्यसैले सरकार कसरी चलाउने, साझा कार्यक्रम के हुने भन्नेबारे पारदर्शी बहस र सहमति हुन आवश्यक छ । त्यो भइरहेको छैन ।”
उनले जनताको तहबाट अब विवेक प्रयोग गर्ने समय आएको बताए ।



