प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने नेपाली कांग्रेसको निर्णयमा दुई महामन्त्रीसहित ४ जनाले लिखित असहमति जनाएका छन् ।

महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा तथा नेताहरु अर्जुननरसिंह केसी र बलबहादुर केसीले निर्णयमा लिखित असहमति जनाएका हुन् ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने प्रस्ताव गरेपछि उनीहरुले असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरेका थिए ।

जस अनुसार कार्य सम्पादन समितिले सभापति देउवाकै चाहना अनुसार विश्वासको मत दिने निर्णय गरेकोमा ४ जनाले फरक मत राखेका हुन् ।

उता माधवकुमार नेपाल नेतृत्वको पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेको छ । सो पार्टीको सचिवालय बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

“यो सरकारलाई सर्तसहित समर्थन गर्ने निर्णय गरेको छ । विश्वासको मत दिन्छ । एजेन्डा राखिनेछन् । एजेन्डा पूरा नगरेमा फर्कन सक्ने ठाउँलाई सुरक्षित गर्दै अहिले समर्थन गरिनेछ,” प्रवक्ता जगन्नाथ खतिवडाले भने ।

यसो गर्दा सात दलबाहेक कांग्रेस र एकीकृत समाजवादीले पनि प्रचण्डलाई मत दिएमा २६० बढी मत प्राप्त गर्ने देखिन्छ ।

अहिले संसद्मा कांग्रेस ८९, एमाले ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, नेकपा एस १०, जनमत पार्टी ६, लोसपा ४, नागरिक उन्मुक्ति ३, नेमकिपा १, राजमो १ र पाँच जना स्वतन्त्र सांसद रहेका छन् ।

स्वतन्त्रमध्ये तीनजना सत्तापक्षको बेञ्चमा उभिइसकेका छन् भने एकजना नेकपा एमालेमा प्रवेश गरिसकेका छन् ।

प्रचण्डको पक्षमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोसपाको मत पर्ने निश्चित छ ।