मुन्धुमस्टार डटकम — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दीने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बुधबारदेखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको छ । ट्रायल सञ्चालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली लागू नगर्न दवाव दीरहेको घटना सार्वजनिक भइरहेका बेला मुख्यमन्त्री कार्यालयले तेस्रो पटक हस्तक्षेप गरेर रोक लगाएको हो ।

मुख्यमन्त्री कार्यालयले प्रणालीका विषयमा अध्ययन गर्ने भन्दै प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिवको संयोजनमा समिति गठन गरी तत्कालका लागि प्रणाली लागू नगर्न निर्देशन दिएको छ । चार सदस्यीय समितिलाई प्रणाली कसरी लागू गर्न सकिन्छ भन्नेबारे एक महिनाभित्र सुझावसहितको प्रतिवेदन दिन भनिएको छ ।
१० गते वाग्मती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालको उपस्थितिमा ट्रायल सेन्टर सञ्चालन गरिरहेका यातायात कार्यालय प्रमुखहरुले आज बुधबारदेखि ७० प्रतिशत प्रणाली लागू गर्ने प्रतिबद्धता जनाएका थिए । तर, मुख्यमन्त्री कार्यालयले १४ गते यातायात मन्त्रालयलाई पत्राचार गरेर रोक लगाएको जानकारी गराइएको हो । यो प्रणाली चार वटा प्रदेशमा लागू भइसके पनि वाग्मतीमा भने मुख्यमन्त्री कार्यालयको हस्तक्षेपका कारण पटक–पटक रोकिँदै आएको हो । सातमध्ये प्रदेश १, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा यो प्रणाली लागू भइसकेको छ ।