जनसेवामा टाइम कार्ड लागू गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई गृहमन्त्रीको निर्देशन
मुन्धुमस्टार डटकम — गृहमन्त्री रवि लामिछानेले सेवामा टाइम कार्ड लागू गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् । सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई भर्चुअल माध्यमबाट निर्देशन दिँदै उनले सेवा मा गुनासो आउन नदिन र टाइम–कार्डको अभ्यास गर्न भनेका हुन् ।
सबै सेवाग्राहीमाथि समभावको दृष्टिकोण राखेर काम गर्न उनको निर्देशन थियो । ‘तपाईंहरूलाई स्रोतसाधन र जनशक्तिको समस्या छ भन्ने हामीलाई थाहा छ,’ उनले भने, ‘तथापि पूर्ण सेवाभावले काम गरी नागरिकको अनुहारमा मुस्कान ल्याउने जिम्मेवारीमा पनि हुनुहुन्छ । जनताको मुहारमा ल्याउन सकेको खुसी अमूल्य छ । त्यो खुसी ल्याउने अवसर नगुमाउनुहोस् ।’
राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाउन काठमाडौं आउनै नपर्ने गरी सेवा गर्न उनले निर्देशन दिएका छन् । साधन र स्रोतको सीमामा रही सम्पादन गर्न सकिने सुधार एवं प्रक्रिया सरलीकरणका विषय समावेश गरी १५ दिनभित्र सेवा सुधार कार्यान्वयन योजना पठाउन पनि उनले निर्देशन दिएका छन् । साथै, सोमबार नै कार्यालयको कार्यसम्पादनसँग सम्बन्धित समस्या पठाउन भनेका थिए ।



