जीएसआई कार्यान्वयन गर्न चीनले खोज्यो नेपालको साथ
चीनले आफ्ना दुई रणनीति ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) र ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) लाई कार्यान्वयन गर्न नेपालको साथ खोजेको छ ।
चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठसँग बेइजिङमा भएको भेटवार्तामा परराष्ट्र मन्त्रालयको एसियाली मामिला विभागका महानिर्देशक लिउ जिन्सङले जीएसआई र जीडीआई कार्यान्वयनका लागि सह्योग गर्न आग्रह गरेका हुन् ।
भेटबारे चीनको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
भेटमा लिउले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बधाई दिँदै चीनले नेपालको नयाँ सरकारसँग जीएसआई, जीडीआई र उच्च गुणस्तकारका बीआरआई परियोजनाहरूलाई अगाडि बढाउन र चीन–नेपाल समुदायको साझा भविष्यको निर्माण गर्न चाहेको विज्ञप्तिमा उल्लेख छ ।
तर, यी दुई विषयबारे नेपाल सरकारले आफ्नो धारणा राख्न बाँकी छ । जीडीआई अन्तर्गतका केही कार्यक्रमहरू नेपालमा कार्यान्वयन भइसकेका छन् ।
गएको असोज ५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले जीएसआईको एक कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दा निकै विवाद भएको थियो ।
तत्कालीन सरकारले सहभागिता नजनाउन आग्रह गर्दागर्दै सहभागिता जनाएपछि राष्ट्रपतिले आलोचना खेप्नुपरेको थियो । सुरक्षाको विषय भएकाले नेपाल सरकार यसतर्फ सचेत हुनुपर्ने राजनीतिज्ञ तथा विज्ञहरूको धारणा राखेका थिए ।



