मुन्धुमस्टार डटकम — प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आन्तरिक परामर्श गरेका छन् । बुधबार जुम बैठकमार्फत जिल्लाका पदाधिकारीसँग नेपालले सुझाव मागेका थिए ।

सरकारमा जाने विषयमा जिल्ला नेताहरूको मिश्रित धारणा छ । नेताहरूले मूलतः तीन सुझाव दिएका छन्, पहिलो– सरकारमा जानुपर्छ, दोस्रो– सरकारमा नगई पार्टी संगठन सुदृढ बनाउनुपर्छ । र, सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्नुपर्छ ।

अधिकांश जिल्ला नेताले पार्टीलाई सशक्त बनाउनुपर्ने र संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन् । यथास्थितिमा सरकारमा नगई पार्टीलाई सशक्त बनाउनुपर्ने र संसद्मा प्रभावकारी भूमिका खेल्नुपर्नेमा उनीहरूको जोड थियो । केही मन्त्री र राज्यमन्त्री लिएर मात्रै संगठन नबन्ने उनीहरूको सुझाव छ ।

केहीले सरकारमा सहभागी भएर वाम एकताको पक्षमा भूमिका खेल्नुपर्ने सुझाव दिए । सरकारमा नगएर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने विकल्पबारे पनि केही जिल्ला नेताको सुझाव छ । नेपालले सरकारको साझा नीति तथा कार्यक्रम र पार्टीलाई हेर्ने दृष्टिकोणका आधारमा समर्थन वा विरोध गर्ने नेपालले संकेत गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले नेपालसँग बुधबार बिहान भएको छलफलमा सत्तारूढ गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । त्यसअघि प्रचण्डले नेपालसँग सरकारप्रतिको धारणा मागेका थिए । जवाफमा नेपालले सरकारप्रति नकारात्मक धारणा नभएको प्रतिक्रिया दिएका थिए । लगत्तै प्रचण्डले सरकारलाई समर्थन गरेर अगाडि बढ्न आग्रह गरेका थिए ।