गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमजोरी छ, कांग्रेसले राष्ट्रपति राखेर अरू पद दिए हुन्थ्यो- डा. कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनको मर्म बुझ्न नसकेको आरोप लगाएका छन् ।
गृहनगर विराटनगर आउने क्रममा बुधबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले भने, “गठबन्धनको निरन्तरता हुन नसक्नुमा कांग्रेसको कमजोरी छ । तर प्रचण्डले गठबन्धनको मर्मलाई नबुझ्दा अहिलेको परिस्थिति बन्यो ।”
कोइरालाले निर्वाचनपूर्व गठबन्धनकै नेतृत्वमा सरकार भनिएको तर माओवादी र कांग्रेस संयुक्त रूपमा अघि बढ्न नसकेको बताए ।
पार्टी सभापति शेरबहादुर देउवा र वार्तामा रहेका सदस्य चुकेको आरोप लगाउँदै कोइरालाले भने, “हामीले राष्ट्रपति पद लिएर अरू पद दिँदा पनि हुने थियो । फेरि, निर्वाचनपछि ठूलो पार्टी भएको हैसियतमा कांग्रेसले प्रमुख पदमा दाबी गर्नु स्वाभाविक पनि थियो ।”
पार्टी नेतृत्वले माओवादी केन्द्र र एमालेको चाललाई बुझ्न नसकेकाले गठबन्धन टुटेको उनको भनाइ छ । उनले यो विषयमा कांग्रेस केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा गर्ने बताए ।
सभापति देउवाले सरकार गठनका सन्दर्भमा महामन्त्रीद्वयलाई बोलाएर छलफल गर्नुपर्नेमा त्यो नगरेको उले बताए ।
उनले आफू नीति अधिवेशन गर्नुपर्ने पक्षमा रहेको पनि बताए । “पार्टीको विशेष अधिवेशन भन्दा पनि नीति अधिवेशन गर्नुपर्ने मेरो धारणा छ,” उनले भने ।



