गठबन्धनमा भएको सहमतिअनुसार संसद्को दोस्रो ठूलो दल नेकपा एमालेले सभामुख पाउनेछ ।

प्रधानमन्त्री र सभामुख एमाले र नेकपा माओवादीबीच आधा– आधा कार्यकाल लिने सहमति भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् ।

एमालेबाट सभामुख बन्नेछन् । प्रतिनिधिसभाको सभामुख को बन्ने भन्ने चर्चा पनि सुरु हुन थालेको छ । सभामुखका विषयमा एमालेमा औपचारिक छलफल भने सुरु भइसकेको छ ।

सभामुखको चर्चामा को– को ? 

एमाले नेताहरुका अनुसार सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र सांसद विद्या भट्टराईको नाम चर्चामा आएको छ । चर्चामा आए पनि उपमहासचिव गुरुङ आफू निकट नेताहरुसँग सभामुख नबन्ने संकेत गरेका छन् ।

“मेरो ध्यान अब पार्टीको महासचिव बन्नेमा हुन्छ । नभए पनि उपाध्यक्ष त भइहाल्छु । अब सभामुख बन्नेतिर म लाग्दिन,” एक नेताले उनको भनाइ उद्धृत गर्दै भने । सभामुखमा सचिव विश्वकर्माको सम्भावना प्रवल रहेको एक नेताले बताए । उनी रुपन्देही– १ बाट निर्वाचित हुन् । दलित समुदायबाट निर्वाचित भएका उनी मात्रै हुन् ।

नेकपा एमाले छाडेर चुनाव लडेका घनश्याम भुसाललाई पराजित गरे । अघिल्लो पटक पनि रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका विश्वकर्मा पूर्वमन्त्री समेत हु्न् । “सभामुखका लागि छविलाल भुसालको नाम आएको छ । अहिलेसम्म पार्टीमा सभामुखबारे छलफल भएको छैन । अब पार्टीमा छलफल हुन्छ,” ती नेताले भने ।

त्यस्तै एमालेले महिलाबाट उपसभामुख बनाए कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी विद्या भट्टराई हुन सक्ने चर्चा छ । उनी अघिल्लो प्रतिनिधिसभा कार्यकालयमा उपसभामुखको उमेदवारसमेत बनेकी थिइन् ।  सभामुखका लागि आवश्यक हाइटका बारेमा छलफल हुने एक नेताले बताए ।

“महिलामा जाँदा हुन सक्छ । सभामुखका लागि हाइटको पनि कुरा होला,” ती नेताले भने ।