धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १८६७.२१ विन्दुमा नै बन्द भएको छ । बुधबार ५.८९ अंक घटेर १८६७ विन्दुमा बन्द भएको नेप्से आज पनि सोही विन्दुमा रोकिएको हो ।

तर, कारोबार रकममा भने आज वृद्धि भएको छ । गत कारोबार दिन ८६ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएकोमा आज एक अर्ब ११ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

यस दिन २४७ धितोपत्रको ३१ लाख ११ हजार ८३३ कित्ता खरिद–बिक्री भएको छ । कारोबारमा आएका कूल कम्पनीमध्ये सेयर मूल्य सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले वृद्धि भएको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक रकमको सेयर खरिद–बिक्री नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको भएको छ । यो कम्पनीको १४ करोड ९९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको हो । यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९५३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको पाँच करोड ६९ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । यो बैंकको सेयरमूल्य प्रतिकित्ता ६६५ रुपैयाँ २० पैसा कायम भएको छ । आज सेन्सेटिभ इन्डेक्स भने ०.४७ प्रतिशतले वृद्धि भएर ३६७.०६ विन्दु कायम भएको छ ।

कारोबारमा आएकज १३ समूहमध्ये तीनवटा समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी रहेका समूहको परिसूचक घटेको छ । परिसूचक वृद्धि हुनेमा ‘अन्य’ समूह २.०४ प्रतिशत, म्युचुअल फन्ड समूह ०.४० प्रतिशत र वाणिज्य बैंक समूहको परिसूचक ०.११ प्रतिशतले वृद्धि भएको छ ।

सर्वाधिक परिसूचक घट्नेमा होटेल तथा पर्यटन समूह रहेको छ । यो समूहको परिसूचक २.२८ प्रतिशतले घटेको छ ।