बढ्यो पेट्रोल, डिजेल र मट्टीतेलको भाउ

काठमाडौँ: नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।
आज मध्यराति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल/मट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने डिजेल/मटितेलको मूल्य प्रतिलिटर १७५ पुगेको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको खुद्रा विक्री मूल्य भने हाललाई यथावत् नै राखिएको आयल निगमले जनाएको छ ।
निगमले खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखेको छ।
हाल एलपी ग्यास एक हजार ८ सय रूपैयाँ छ। हवाइ इन्धन (आन्तरिक) को प्रतिलिटर १७० रूपैयाँ छ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएको जानकारी दिँदै मूल्य समायोजन गरिएको जनाएको छ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ।
यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबैभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।
निगमले नेपाल सरकारको ऋण र इण्डियन आयल कर्पोरेसन लिमिटेडलाई फेब्रुअरी २०२२ मा तिर्नुपर्ने बक्यौता १६ अर्व ३० करोड रुपैयाँ रहेको दाबी गरेको छ ।
‘इण्डियन आयल कर्पोरेसन लिमिटेडको बक्यौता एवम् सरकारद्वारा उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई अझै चुनौती नै रहेको अवस्था छ,’ निगमले विज्ञप्तिमा भनेको छ ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।