सरकारले ल्याएको अध्यादेशमा गगन थापाको दोहोरो चरित्र देखियो- अमनलाल मोदी
नेकपा (माओवादी केन्द्र)का नेता अमनलाल मोदीले सरकारले सिफारिस गरेको अध्यादेशको विरोध गरेर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दोहोरो चरित्र देखाएको बताएका छन् ।
थारु कल्याणकारी सभा, थरुहट/थारुवान संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा आयोजना गरेको अध्यादेश प्रमाणीकरण विषयक अन्तक्र्रिया कार्यक्रममा मोदीले टिकापुर पुगेर थारुलाई अन्याय पर्यो, विद्रोेह भयो भनेर थापाले यसअघि बोलेको तर अहिले अध्यादेशको विरोध गरेर दोहोरो चरित्र देखाएको बताए ।
पाउने बेला राम्रोसँग व्याख्या गर्ने र दिनुपर्ने बेला अपराधीकरणको व्याख्या भइरहेको उनको भनाइ छ । थारुलगायत उत्पीडित वर्गहरु अन्यायमा परेको भन्दै राज्यले अध्यादेश ल्याउदा विरोध हुनु दुःखद भएको उनले बताए ।
मोदीले यसअघि नेकपा (एमाले) नेतृत्वको सरकारले ल्याएको कुनै पनि अध्यादेश राष्ट्रपति कार्यालयबाट तुरुन्तै प्रमाणीकरण भए पनि अहिले सरकारले अघि सारेको अध्यादेश प्रमाणीकरण नहुनुले राजनीतिक रंग हावी भएको देखिएको तर्क गरे । मोदीले अहिले टीकापुरको घटना मात्रै नभएर देशैभर उठेको माग मुद्दालाई सम्बोधन गराउने प्रयास जारी रहने जिकिर गरे ।



